नेपाली विद्यार्थीहरुले तीन वर्ष लगाएर अन्तरीक्षमा प्रक्षेपण गर्न मिल्ने पिको (पकेट क्युब) स्याटलाइट निर्माण गरेका छन्।
५ सेन्टिमटर लम्बाइ, ५ सेन्टिमिटर चौडाइ र पाँच सेन्टिमिटर उचाइ भएको २ सय ५० ग्राम तौलको यो स्याटलाइट खल्तीमा राखेर हिँड्न मिल्छ।
उनीहरुको योजनाअनुसार सबै कुरा अघि बढे पुसअघि नै पिको स्याटलाइट अन्तरीक्षमा पुग्ने छ।
त्यसअघि स्पेनमा यो स्याटलाइटको परीक्षण हुने छ।
‘आगामी दुई महिनाभित्र फ्लाइट मोडल निर्माण गरी सकेपछि इन्भारोमेन्टल तथा थर्मल परीक्षणका लागि स्पेनमा पठाउने छौं,’ स्याटलाइट निर्माणमा सक्रिय रहेका अभिषेक काफ्लेले नेपालखबरसँग भने, ‘हामी बेलायती कम्पनीसँग सम्पर्कमा छौ। त्यही कम्पनीले अमेरिकाका इलन मस्कको स्पेस एक्स कम्पनीद्वारा निर्मित फाल्कन नाइन रकेटबाट अन्तरीक्षमा लैजाने योजना हो।’
बेलायतका अल्बा अर्बिटल नामको कम्पनीले एमेच्योर स्याटलाइट निर्माण गर्ने कम्पनी र अन्तरीक्ष पठाउने संस्थाबीच मध्यस्थताको भूमिका निर्वाह गर्छ। इन्भारोमेन्टल तथा थर्मल परीक्षण भनेको स्याटलाइट रहने स्थानको जस्तो वातावरण छ त्यसमा स्याटलाइट टिक्न सक्छ कि सक्दैन भनेर गरिने परीक्षण हो।
यस्तो स्याटलाइटहरु पृथ्वीको सतहभन्दा ५ सयदेखि ६ सय किलोमिटर माथि रहने छ।
स्याटलाइट बोकेर जाने रकेटमा उत्पन्न भ्राइबेसनबाट पनि कुनै प्रकारको समस्या आउँछ आउँदैन, त्यसको पनि जाँच हुन्छ। काफ्लेले नेपालमा यस्तो जाँचको सुविधा नभएको कारण स्पेन पठाउन लागिएको बताए।
‘परीक्षण तथा प्रक्षेपणका लागि ५५ लाख रुपैयाँ लाग्ने देखिन्छ। त्यसका लागि हामीले सबैसँग सहयोग माग गरेका छौं,’ ओराइन स्पेसका रिसर्च एन्ड डेभेलपमेन्ट इन्जिनियर सौरभ पौडेलले भने।
उनले विदेशमा बस्नेहरुले गोफन्डमी र नेपालभित्रबाट ईसेवा र खल्तीको माध्यमबाट सहयोग गर्न सक्ने बताए।
स्याटलाइट राख्न नेपाल सरकारसँग फ्रिक्वेन्सी माग गरेपनि उपलब्ध नगराएको उनीहरुले बताए।
‘फ्रिक्वेन्सी उपलब्ध गराउन हामीले स्पेनमा आवेदन दिएका छौँ। आगामी दुई साताभित्र यो प्राप्त हुन्छ,’ पौडेलले भने, ‘जसका कारण हामीले स्याटलाइटको नाम नेपाल पिको वानसँगै सानो स्याट वान बनायौं।’
नेपाल सरकारलाई फ्रिक्वेन्सी उपलब्ध गराउन आग्रह गरेको एक वर्षसम्म पनि कुनै जवाफ नआएपछि स्पेनबाट फ्रिक्वेन्सी लिन लागेको उनले बताए।
‘सरकारले यस विषयमा आफ्नो काम अघि बढाओस् भन्ने चाहन्छौं। भविष्यमा अन्य साथीहरुले वा हामीले पनि स्याटलाइट बनाउँदा नेपालले उपलब्ध गराएको फ्रिक्वेन्सीमा पठाउन पाइयोस्,’ पौडेलले भने।
एमेच्योर स्याटलाइटका लागि व्यवसायिक भन्दा फरक फिक्वेन्सी उपलब्ध गराउने भएपनि त्यसका लागि देशको नियामक निकायले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन(आईटीयू)लाई पत्रचार गर्नुपर्ने हुन्छ।
सानो स्याटलाइट निर्माणका लागि ४० लाख रुपैयाँ खर्च भइसकेको पिको स्याटलाइट निर्माणमा सुरुदेखि जोडिएका जितेन थापाले बताए।
‘पछिल्लो तीन वर्षदेखि यसमै लागेका छौं। त्यस समयमा काठमाडौँ विश्वविद्यालयको बीई तेस्रो वर्षमा अध्ययन गर्थ्यौं। सुरुमा यति सानोमा कसरी बनाउने भन्ने थियो,’ थापाले भने, ‘चौथो वर्ष सकिएपछि हामी केही साथी फुलटाइमनै यसमा लाग्यौँ।’
थापाले तीन जना पूर्णकालीन भएपनि कम्तीमा २५ जना यसमा सहभागी रहेको बताए। जसमा अधिकांश काठमाडौँ विश्वविद्यालय र भक्तपुरको ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थी छन्।
विद्यार्थी राकेश प्रजापतिले पिकेट क्युब बनाउन सुरु गरेपछि उनीहरुले सबै जना यो काममा संलग्न भएका हुन्। स्वीट्जरल्यान्डको स्याटलाइट तथा अन्तरीक्ष प्रविधि कम्पनीसँग काम गर्दै आएका प्रजापतिले त्यसका लागि ओराइन स्पेस नामको कम्पनी नै स्थापना गरे।
‘ओराइन स्पेसका सीईओ राकेशचन्द्र प्रजापतिले पकेट क्युब बनाउनु पर्छ भनेर सुरुवात गर्नुभयो। त्यसअघिसम्म यस्ता प्रकारका काम गरेका थिएनौं। सुरुमा यति सानो स्याटलाइटमा सबै कुरा कसरी अटाउने होला भन्ने थियो,’ थापाले नेपालखबरसँग भने, ‘तीन जना पूर्णकालीन भएपनि हामी २५ जना जतिले यसमा काम गरेका छौं।’
थापाले सबै विषय नयाँ भएकाले पनि काम कठिन भएको बताए।
‘अरुले गरेको हेरेर गर्नुपरेकाले हामीलाई यो बनाउन अलि लामो समय लाग्यो,’ थापाले भने, ‘अब बनाउनु पर्दा चाँडै बनाउँछौं,’ थापाले भने, ‘गल्ती गर्दै फेरि सुरुदेखि बनाउने गर्दै अहिलेको अवस्थामा आइपुगेको हौं।’
पछिल्लो समयमा विश्वभर सानो स्याटलाइट बनाउने कामले तीव्रता पाएको छ।
‘ठूला स्याटलाइट बनाउन धेरै पैसा लाग्छ। धेरै दक्ष जनशक्ति आवश्यक पर्छ। सानो चाहिँ छिटो र थोरै रकममा बनाउन सकिन्छ। त्यसैले संसारभर यसको आकर्षण बढेको छ,’ पौडेलले भने, ‘हाम्रो पनि सानो कम्पनी, सानो रकम र स्टार्टअपले काम गरेको हो।’
नेपाल पिको वानले प्रक्षेपणपछि पृथ्वीलाई नब्बे मिनेटमा एक फन्को लगाउने छ।
‘यसले ग्राउन्ड स्टेसनबाट स्याटलाइटमा पठाएको कुनै पनि डेटालाई रिपिट गर्ने काम गर्छ,’ पौडेलले भने, ‘यसले अन्तरीक्षमा रहेको विकिरणलाई मापन गर्छ।’
जसलाई भौतिकशास्त्रका विद्यार्थीहरुले प्रयोग गर्न सक्ने बताए।
‘हामीले यो सिक्ने प्रयोजनका लागि बनाएका हौं। प्राविधिक सीप र क्षमताको हिसाबले हामी पनि सक्षम छौं भनेर यसले देखाउने छ,’ पौडेलले भने।
भिडियाे:
Shares
प्रतिक्रिया