ad ad

समाज


काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनले यात्रु पाएनन्

काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनले यात्रु पाएनन्

सञ्चिता घिमिरे
साउन ९, २०७७ शुक्रबार ४:५८,

यातायात व्यवसायी र मजदूर संगठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन्। सञ्चालनमा रहेका सवारी साधनमा पनि यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन्।

केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेका थिए। बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा सवारी साधनको चाप केही बढेको थियो।

व्यवसायी र मजदूर संगठनले बिहीबारदेखि सवारी साधन सञ्चालन गर्न थाले पनि यात्रु संख्या न्युन छ। आमनागरिकले सोचेजस्तै ह्वात्तै सडक व्यस्त भने भइसकेको छैन। सामान्य अवस्थामा खचाखच देखिने सुन्धारा, शहीदगेट, बबरमहल, नयाँबानेश्वर, कोटेश्वरलगायतका प्रतीक्षालयमा कार्यालय समयमा पनि थोरै मात्रै यात्रु देखिन्थे।

सडकमा गुडिरहेका बस, माइक्रो, ट्याम्पोलगायतका सवारी साधनमध्ये अधिकांशमा आधाभन्दा कम मात्रै यात्रु छन्। बिहीबार अनुगमन गर्दा अधिकांश सवारी साधनमा चालक, सहचालक र यात्रुले माक्स र स्यानेटाइजरको प्रयोग गरेको देखियो भने कतिपय चालक भाइजर नलगाएको देखिन्थ्यो।

सरकारले झण्डै चार महिना पहिलेदेखि जारी राखेको बन्दाबन्दी बुधबारदेखि सकियो । बन्दाबन्दीकै अवधिमा लागू निजी सवारी साधनमा जोर÷बिजोर प्रणाली हटाइएसँगै सडकमा निजी सवारी साधन बढ्न थालेको हो। सडकको चाप थोरै मात्रै बढेको पाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

कोभिड–१९ रोकथामका लागि स्वास्थ्य सुरक्षा नपनाउने चालक सहचालकलाई ‘होल्ड’ मा लिइएको महाशाखाका प्रवक्ता दानदेव गौतमले जानकारी दिए। उपत्यकाभर दुई दिनमा झण्डै ३१ सवारी साधनलाई ‘होल्ड’ गरिएको छ। ‘स्वास्थ्य सावधानी नअपनाउने सवारी साधनलाई दिनभर होल्ड गराएर साँझ मात्रै छाड्ने गरिएको छ,’ गौतमले भने।

बिहीबार स्वास्थ्य सावधानी नअपनाइ सञ्चालन गरिएको १६ बस, १४ ट्याक्सी र एउटा ट्याम्पोलाई होल्ड गरिएको थियो। सरकारले कोभिड–१९ को जोखिम मध्यनजर गर्दै सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्ने निर्णय गरे पनि यी सवारी साधनले त्योभन्दा बढी राखेको पाइएको प्रवक्ता गौतमले बताए।

कतिपय सवारी साधनमा चालक र सहचालकले माक्स, पञ्जा, भाजरलगायतका सुरक्षा सामग्रीको प्रयोग नगरेको पाइएकाले होल्ड गरिएको हो।

उपत्यकामा चक्रपथ र चक्रपथभित्रका सडकमा अधिकांश सवारी साधनमा यात्रु कम देखिए पनि उपत्यका नजिकका बस्ती (काँठ क्षेत्र) सम्म जाने बसमा यात्रु बढी राखेको पाइएको छ। बस, माइक्रोलगायतका सवारी साधन ज्यादै कम सङ्ख्यामा चलेकाले चढ्न बाध्य भएको यात्रुको भनाइ छ। प्रवक्ता गौतमले भने ट्राफिक प्रहरीले अनुगमन गरिरहेको र क्षमताको आधाभन्दा बढी यात्रु राखेको पाइएमा कारवाही गरिने बताए।

केही दिन पहिले मात्रै यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादूर हमाल, यातायात व्यवसायी र मजदूर संगठन र काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुखसमेत सहभागी बैठकले आआफ्नो क्षेत्रमा बस रोक्ने ठाउँमा पानी र साबुनको व्यवस्था गर्ने सहमति भएको थियो।

त्यसो त कतिपय स्थानमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कोभिड–१९ को जोखिम शुरु भएदेखि नै साबुनपानीको व्यवस्था गरेको थियो। अहिले कतिपय पालिकाले थप स्थानमा साबुनपानी व्यवस्थापन गर्न थालेका छन्। काठमाडौँ महानगरपालिकाले ठाउँठाउँमा स्यानेटाइजरको व्यवस्था गर्ने जनाएको छ।

सरकारले सार्वजनिक सवारी साधन सञ्चालनको निर्णय गरेको झण्डै दुई साता पछि यातायात व्यवसायले सवारी साधन सञ्चालन गरेका थिए । गत सातादेखि नै सरकारी लगानीको साझा यातायातसँगै मयूर यातायात, सुन्दर यातायात, संयुक्त यातायातलगायतका कम्पनीले सवारी साधन चलाउन शुरु गरिसकेका थिए।

सरकारले निर्णय गरे पनि यात्रु र चालकको स्वास्थ्यको सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै व्यवसायी महासंघको आह्वानमा अधिकांश कम्पनीले सवारी साधन सडकमा निकालेका थिएनन्।

अहिलेका लागि मर्मत भएका सवारी साधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने महासंघले जनाएको छ। सरकारले साउन भर एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्को जिल्लामा सवारी साधन चलाउन पाउने निर्णय गरेको छ।

महासंघले सबै रुट खुल्ला गर्नुपर्ने यातायात व्यवस्था विभागसँग माग गर्दै आएको नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए। ‘कोही व्यक्ति नौबिसे आएर काठमाडौँ आउन नपाउने गर्नुहुँदैन,’ उनले भने।

यातायात व्यवस्था विभाग, व्यवसाय र मजदूरबीच यातायात श्रमिकको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बीमाङ्क रकम उपलब्ध गराउने सहमतत भएका छन्।

यातायात श्रमिकको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारको तर्फबाट कोष स्थापना गराउने सहमति भएको छ। त्यस्तै, श्रमिकको आवश्यक माक्स, पञ्जा, स्यानेटाइजर, पिपिई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .