ad ad

समाज


उपत्यका भित्रिने १० हजार जनाको नाकामै कोरोना परीक्षण गरिने

उपत्यका भित्रिने १० हजार जनाको नाकामै कोरोना परीक्षण गरिने

नेपालखबर
साउन १०, २०७७ शनिबार ८:२,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने १० हजार जनाको कोरोना परीक्षण गर्ने भएको छ।

लकडाउन हटेसँग बाहिर जिल्लाबाट उपत्यका भित्रने क्रम तीव्र बनेपछि उपत्यकामा भित्रिनेहरुको नाकामै परीक्षण गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यका छिर्ने मुख्य दुई नाका नागढुंगा र साँगा हुँदै भित्रिने १० हजार जनाको कोरोना परीक्षण गर्न लागिएको बताए।

‘उपत्यकाको जोखिमलाई मध्यनजर गर्दै नाकामा सो संख्यामा परीक्षण गर्न लागेका हौं,’ प्रवक्ता गौतमले नेपालखबरसँग भने, ‘नाकामा भित्रिने सबैको परीक्षण गर्छौँ। आइतबारबाट परीक्षण सुरु हुन्छ।’

घनावस्ती रहेको उपत्यकामा कोरोना संक्रमण फैलिए त्यसलाई नियन्त्रणमा लिन कठिन हुने विज्ञहरुले बताउँदै आएका छन्। शुक्रबारमात्रै काठमाडौंमा १० जनामा संक्रमण देखिएको थियो।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका अनुसार शुक्रबारसम्म उपत्यकाका तीन जिल्लामा ४०८ जनालाई कोरोना संक्रमण देखिसकेको छ। मन्त्रालयका अनुसार काठमाडौंमा २७६, ललितपुरमा ८१ र भक्तपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको हो।

लकडाउन खुलेसँगै सम्पूर्ण कार्यालय, उद्योगधन्दा, यातायात, पसलहरु खुलेका छन्। त्रिविलगायतका विश्वविद्यालयले रोकिएको परीक्षा सञ्चालन गर्ने मिति नै तोकेर सूचना निकाली सकेका छन्। सोही सन्दर्भमा कोरोना प्रभावित जिल्लाबाट उपत्यका छिर्नेक्रम बढेसँगै नाकामा परीक्षण गर्न लागिएको गौतमले बताए।

तराईका विभिन्न जिल्लामा संक्रमण समुदायस्तरमा फैलिएको आशंका गरिएको छ। प्रदेश २ को वीरगञ्जमा समुदायस्तरमै कोरोना फैलिएको आशंकामा शनिबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। यस्तै सप्तरी र बारामा पनि कोरोनाको जोखिम बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .