ad ad

समाज


दुर्घटना न्यूनीकरणका लागि चितवनमा रात्रिकालीन सवारी जाँच सुरु

दुर्घटना न्यूनीकरणका लागि चितवनमा रात्रिकालीन सवारी जाँच सुरु

नेपालखबर
साउन २१, २०७७ बुधबार ४:२९,

चितवन प्रहरीले जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ। बन्दाबन्दीका कारण रोकिएको अभियान बन्दाबन्दी हटेसँगै पुनः शुरु गरिएको हो।

रात्रिकालीन जाँचलाई प्रभावकारी र परिणाममुखी बनाउनका लागि संयुक्तरूपमा सडक सुरक्षा जाँच कार्ययोजना कडाइका साथ लागू गर्दै रात्रिकालीन सवारी जाँचलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा ट्राफिक प्रहरी र जनपद प्रहरीले गत वर्ष माघ २० गतेदेखि सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना, २०७६ लागू गरी रात्रिकालीन सवारी जाँच शुरु गरेका थिए।

प्रहरी प्रमुख गुरुङले भने, ‘सवारी व्यावस्थापनदेखि सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्ययोजनासहित प्रहरीले काम गरिरहेको छ, रातको समयमा भएको दुर्घटनामा मानवीय क्षति बढी भएको पाइएकाले जांँचमा कडाइ गरिएको हो।’

सवारी जाँचमा आफैँ फिल्डमा खटिँदै आएको उनले बताए। मुलुककै केन्द्र भागमा पर्ने चितवनमा हरबखत ‘हाइअलर्ट’मा बस्नुपर्ने भएकाले सम्भावित दुर्घटनाको न्यूनीकरण गर्न योजनाबद्ध तरिकाले सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना ल्याइएको चितवन ट्राफिक प्रहरीले जनाएको छ।

जिल्लाका मुख्य राजमार्ग तथा सहायक मार्गहरुमा रातिको समयमा हुनसक्ने सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै चितवन ट्राफिकले चालक सचेतना अभियान शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए।

नारायणगढ–मुग्लिन सडक र नारायणगढ–लोथर सडकमा रातिको ७ देखि १२ बजेसम्मको समयमा आलोपालो गर्दै लोथर, खैरहनी, टाँडी, गोन्द्राङ, आँपटारी र मुग्लिन गरी आठ स्थानमा जाँच गरिने भट्टले जानकारी दिए।

ट्राफिक प्रहरीका अनुसार रातको समयमा भएका दुर्घटनामा मानवीय क्षति बढी भएको र चालकको लापरवाही, तीव्रगति, चालकले मादक पदार्थ सेवन गरी चलाउने, एउटै चालकले लामो दूरीको सवारी चलाउनेलगायतका कारण दुर्घटना हुने गरेका छन्।

विगतको तथ्याङ्क हेर्दा रातको समयमा बढी दुर्घटना हुने गरेकाले रात्रिकालीन समयमा झनै जाँच कडा पारिएको भट्टको भनाई छ।

जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा कार्ययोजना लागू भएपछि दुर्घटनाको दरमा कमी आउने अपेक्षा गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .