ad ad

समाज


डोटी बस दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत, ३३ घाइते

डोटी बस दुर्घटना अपडेट : मृतक  तीन जनाको सनाखत, ३३  घाइते

नेपालखबर
साउन २८, २०७७ बुधबार ७:५,

पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा बुधबार बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ।

घटनामा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ मार्कु बस्ने ३० वर्षीय टीकाराम विक, मंगलसेन नगरपालिका–७ अछाम बस्ने ५५ वर्षीया धनी शाही तथा बान्नीगढजयगढ गाउँपालिका–३ अछाम बस्ने ६० वर्षीय पदम साउद छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले कैलालीबाट अछामका लागि जाँदै गरेको कर्णाली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट कम्तीमा पनि ३० मिटर तल खोलामा खसेको प्रनि बोहराले जानकारी दिए। भारतबाट रोजगारी गरी घर फर्किएका अछामका नागरिक लिएर आएको उक्त बस दुर्घटनामा परेको हो।

वर्षात्का कारण सडक चिप्लो भएको र चालक पनि निदाएका कारण गाडी दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जनाएको छ। घाइते अधिकांशको टाउको र छातीमा बढी चोट लागेको उपचारमा संलग्न जिल्ला अस्पताका डा ज्योति पाण्डेले बताए।

सिट क्षमताभन्दा बढी यात्रु बोकेका कारण उक्त बस दुर्घटना भएको हुन सक्ने पूर्वीचौँकी गाउँपालिकाका चक्रबहादुर कठायतले बताए। उनले भने, ‘बसको सिट क्षमताभन्दा बढी यात्रु छन्, बाटो पनि वर्षात्ले खराब भएका कारण दुर्घटना भएको हुन सक्छ।’

प्रहरीले बस चालक २६ वर्षीय हेमबहादुर खत्रीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए। उनले भने, ‘सिट क्षमताभन्दा यात्रु संख्या पनि बढी देखिएको छ, के कति कारणले दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान गर्नका लागि चालकलाई नियन्त्रणमा लिएका छौँ, अनुसन्धानपछि सबै कुरो खुल्ने छ।’

कैलालीदेखि डोटी पुग्दासम्म उक्त बसका चालकले ट्राफिक प्रहरीको चेकप्वाइन्टमा यात्रु सङ्ख्या घटाई इन्ट्री गरेको र उक्त बससँग अछाम जानका लागि जिल्ला प्रशासन कार्यालयको सवारी चलाउने अनुमतिपत्र पनि नभएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .