महोत्तरीको भंगहा नगरपालिका ५ राजपुरटोलमा शुक्रबार साँझ ‘विषालु सर्प’को त्रास फैलिएको छ।
साँझ ५ बजेदेखि राति १० बजेसम्मको अवधिमा ‘नदेखिने सर्पले १५-१६ जनालाई पालैपालो टोक्यो’ भन्ने हल्ला गाउँभरि फैलियो। स्थानीय त्रसित भए।
त्यति मात्र होइन, सर्पले टोक्यो भन्दै बेहोस् भएका एक पुरुषसहित आठ जनालाई तुरुन्तै बर्दिबासस्थित सर्पदशं उपचार केन्द्रमा लगेर भर्ना गरियो।
‘राजपुरको मुस्लिम टोलमा नेदेखिने सर्पले टोक्यो भन्दै मलाई पटक पटक फोन आयो। टोकेको भन्दै बेहोस भएकाहरुलाई उपचारका लागि बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा पनि पठाइयो,’ वडा नम्बर ५ का अध्यक्ष शिवकुमार महतोले नेपालखबरसँग भने, ‘मलाई नै आश्चर्य लाग्यो, गाउँभरि त्रास फैलियो। कस्तो सर्प हो जसले पालैपालो सबैलाई टोकिरहेको छ?’
सुरुमा ‘बढीजन’ लाई सर्पले टोकेको हल्ला फिँजिए पनि ८ जनालाई टोकेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको जानकारी आफुले पाएको वडाध्यक्ष महतोको भनाइ छ।
बुझ्दै जाँदा उनीहरु कसैलाई पनि सर्पले नटोकेको पुष्टि भएको उनले बताए। ‘उनीहरु सबै भ्रमबस सर्पले टोक्यो भन्दै बेहोस् भएका रहेछन्। उपचारको लागि भर्ना भएका कसैलाई विष लागेको छैन। मनो वैज्ञानिक त्रासको कारण उनीहरु सर्पले टोकेको भ्रममा परेको अनुमान हामीले गरेका छौँ।’
बिहीबार आफ्नै धानखेतमा जाँदै गर्दा विषालु सर्पले टोकाइबाट सोही टोलकी ४५ वर्षीया जैमुन खातुनको मृत्यु भएको थियो। सायद सोहि घटनाको त्रासको कारण आफुहरुलाई सर्पले टोकेको भ्रममा परेर उनीहरु बेहोस भएको हुन सक्ने वडाध्यक्ष महतोको आशंका छ।
यता बर्दिबास सर्पदंश उपचार केन्द्रमा भर्ना भएका सात महिला र एक पुरुषलाई सर्पले टोकेको कतैपनि कुनै चिन्ह र लक्षण नदेखिएको केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए। ‘सर्पले टोकेका भनिएका सबैजनालाई सामान्य परामर्श र उपचारपछि घर पठायौँ,’ उनले भने।
‘उनीहरु सबै अचेत अवस्थामा भर्ना भएका थिए। तर शरीरमा कतै सर्पले टोकेको कुनै चिन्ह थिएन,’ देवकोटाले नेपालखबरसँग भने, ‘केही दिनअघि सोही टोलकी एकजना महिलाको सर्पदंशबाट मृत्यु भएको रहेछ। सायद त्यही डरको कारण आफुलाई पनि सर्पले डसेको भ्रममा उनीहरु बेहोस भएका हुन सक्छन्, यो मनोवैज्ञानिक समास्या हुन सक्छ।’
सर्पटोकेको भनिएका सात महिला मुस्लिम समुदायका छन् भने एकजना पुरुष सरदार समुदायका छन्।
‘गाउँका बोक्साबोक्सीले सर्पले टोकाएको’ भन्दै केही धामीझाक्रीले बिरामीलाई झारफुक समेत गरेका छन्।
भंगहा नगरपालिकाका मेयर संजिव साहले आफुलाई एक महिलाले राति नै फोन गरेर धेरैलाई एकैपटक सर्पले टोक्यो भन्ने जानकारी गराउँदा आफू पनि आश्चर्यमा परेको बताए।
‘जानकारी पाउने बितिकै राति नै वडाध्यक्षलाई घटनाको विषयमा सत्यतथ्य बुझेर बिरामीलाई उपचारमा सहयोग गर्न भनेको थिएँ,’ मेयर साहले नेपालखबरसँग भने, ‘गाउँकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएकाले उनीहरुमा मनोवैज्ञानिक त्रास सिर्जना भएको हुन सक्छ।’
गाउँमा अहिले पनि सर्पदंशको त्रास बाँकी नै रहेको भन्दै उनले स्थानीयलाई मनोपरामर्श आवश्यक रहेको बताए।
Shares
प्रतिक्रिया