ad ad

समाज


टाउकोमा चोट लागेका कोरोना संक्रमितकाे उपचार अभावमा मुत्यु

टाउकोमा चोट लागेका कोरोना संक्रमितकाे उपचार अभावमा मुत्यु

प्रकाश न्यौपाने
भदौ ९, २०७७ मंगलबार ५:५,

दुर्घटनामा घाइते एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उपचार अभावमा मृत्यु भएको छ।

रुपन्देहीको गैडहवा गाउँपालिका-३ का ५० वर्षीय पुरुषको गएराति भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

उनको सोमबार राति ११ बजे मृत्यु भएको हो। मजदूरी गर्ने ती पुरुष अघिल्लो मंगलबार काम गर्ने क्रममा घरको छतबाट खस्दा सख्त घाइते भएका थिए। तत्कालै उनलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा पुर्याइएको थियो । टाउकोमा गंभीर चोट लागेका उनको अपरेसन गर्नुपर्ने भयो।

तर अपरेसन गर्नुअघि बिहीबार उनको पीसीआर जाँच गर्न स्वाव संकलन गरियो र नेशनल प्याथ ल्याव बुटवलमा पठाइयो। शुक्रबार उनमा कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पतालमा अपरेसन हुन सकेन। उनको कोरोना पुष्टि भएपछि टाउकाको अपरेसन गर्न चिकित्सकहरु हच्किएका परिवारको आरोप छ।

त्यहाँबाट उनलाई भीम अस्पताल रेफर गरियो। भीममा जनशक्ति अभावमा टाउकाको अपरेसन नहुने भए पनि कोरोना देखिएकाले पारिवारिक जोडबलमा भर्ना गरियो । तर, उपचार नपाउँदा उनको मृत्यु भयो।

भीम अस्पतालका कोरोना फोकल पर्सन सुमित प्रजापतिले कोरोना भन्दा पनि ती पुरुषको चोटका कारण ब्रेन ह्यारेज भएकाले मुत्यु भएको दाबी गरे।
‘मेडिकल कलेजले यहाँ रेफर गरेको थियो । हामीले जनशक्ति छैन, यहाँ उपचार सम्भव छैन भनेका थियौं,’ उनले भने, ‘तर आफन्तले मानेनन्। कोरोना देखिएकाले हामीले बाध्य भएर भर्ना लियौं, तर उहाँलाई बचाउन सकिएन।’

बिरामीको अवस्था भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने थियो। अस्पतालमा जनशक्ति अभावले आइसीयू र भेन्टिरेटर सञ्चालनमा आउन सकेको छैन्। बुटवलको कोरोना बिशेष अस्पतालमा पनि बेड खाली नभएकाले बिरामीलाई भैरहवाकै भीम अस्पतालको सामान्य वार्डमा राखियो । उपचार नपाएपछि गए राती नै उनको मृत्यु भएको हो।

उनलाई सोमबार साँझ आफन्तले मेडिकल कलेजबाट भीम अस्पताल पुर्याएका थिए। अस्पतालमा भर्ना गरेको तीन घण्टामै उनको मृत्यु भयो। कोरोना देखिएकै कारण मेडिकल कलेजले उपचार नगरेर रेफर गर्दा ज्यान गएको भन्दै आफन्तले दुःख पोखेका छन्।

मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुशील गुरुङले भने विरामीको टाउकोमा रगत जमेको र औषधिले नै ठीक हुने भएपछि अपरेसन नगरिएको बताए।

‘बिरामी इमरजेन्सीमा आएपछि टाउकाको सिटी स्क्यान सबै गरिएको थियो। जोखिमलाई ध्यान दिएर पीसीआर जाँच गरियो । औषधि खाँदै जाँदा विस्तारै उहाँको स्वास्थ्यमा सुधार आयो र रिपोर्ट आएको ४ दिनपछि बल्ल भीममा रेफर गरेका हौं’, उनले भने, ‘कोरोना देखिएकै कारण उपचार नपाएको भन्ने होइन।’

गुरुङले मेडिकल कलेजमा कोरोना संक्रमतिको उपचार नहुने भएकाले पनि आफूहरुले रेफर गरेको बताए। ‘परिवारले भने जस्तो कोरोनाका कारण अपरेसन भएन भन्ने चाहिँ होइन । उहाँलाई औषधिले नै ठीक हुन्छ भनेर केही दिन उपचार गरेर मात्रै अस्पतालबाट सिफ्ट गरिएको हो’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .