सरकारले दक्षिण कोरियासहितका केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरे पनि रोजगारी भने सुचारु नहुने भएको छ।
दक्षिण कोरियामा पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरियाले तत्काल श्रमिक नलैजाने निर्णय गरेको हो।
ईपीएस कोरिया शाखा नेपालसँगको छलफलमा एचआरडी कोरियाले दक्षिण कोरिया अहिले पर्ख र हेरको अवस्थामा रहेको बताएको छ।
नेपालले दुई महिना पहिले नै नेपाली श्रमिक लैजाने विषयमा औपचारिक धारणा माग गरेपनि कोरियाले औपचारिक रुपमा भने नेपाललाई कुनैपनि जानकारी दिएको छैन।
नेपालले श्रमिक लैजाने प्रक्रिया सुरु गर्न माग गर्दै त्यसको माध्यम कस्तो हुने भनेर परराष्ट्र मन्त्रालयमार्फत् पत्राचार गरेको छ।
कोरोना संक्रमणको जोखिमसँगै अन्तर्राष्ट्रिय उडान बन्द भएपछि दक्षिण कोरियामा नेपाली श्रमिक जान पाएका छैनन्।
करिव ३ हजार श्रमिक प्रक्रिया पुरा भएर पनि कोरिया जान नपाएको ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले बताए।
तीन महिने भिसा जारी भइसकेका करिव ८ सय श्रमिकको भिसाको म्याद समेत सकिएको छ। अरु एक हजार जनाको भिसा प्रक्रिया भइसकेको छ।
तर पनि कोरियाले श्रमिक लिने औपचारिक निर्णय नगर्दा उनीहरुको रोजगारी अनिश्चित बनेको छ।
एचआरडीका प्रतिनिधिले नेपाली श्रमिक नलैजाने निर्णय नगरिएको तर अहिलेको अवस्थामा तत्कालै निर्णय गर्न नसकिने बताएका छन्।
यसअघि कोरियाले चार्टर्ड उडानमार्फत् श्रमिक नलिने निर्णय गरेको छ। तर संक्रमणको जोखिम बढ्दै जाँदा नियमित फ्लाइटमा जानेलाई पनि उसले त्यहाँ रिसिभ नगर्ने भएको छ।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि देशव्यापी निशेधाज्ञा जारी गरिएको छ।
सरकारले भेला हुन, रात्रिकालीन गतिविधि, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिमा रोक लगाएको छ।
कोरोनाका कारण त्यहाँ लाखौं श्रमिकले रोजगारी गुमाएका छन्। त्योसँगै नेपाली श्रमिक पनि प्रभावित भएका हुन्। त्यहाँ करिव ४० हजार नेपाली श्रमिक कार्यरत छन्।
प्रतिक्रिया