ad ad

समाज


एघार धार्मिक संघसंस्थाले भने : सरकारले पुजारी हत्याको निष्पक्ष छानविन नै गरेन

एघार धार्मिक संघसंस्थाले भने : सरकारले पुजारी हत्याको निष्पक्ष छानविन नै गरेन

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ६:३७,

रौतहटका पुजारी श्रीराम साहको अज्ञात समुहद्वारा गरिएको हत्यामा निष्पक्ष छानविन नगरेको भनी बिभिन्न धार्मिक संघसंस्थाहरुले सरकारको आलोचना गरेका छन्।

उनीहरुले सरकारले सो हत्याकाण्डको छानबिन गरी दोषीलाई कानुनी कारवाही र पीडितलाई न्याय दिनुपर्नेमा त्यसो नगरेको आरोप लगाएका छन्।

भाद्र ३ गते रौतहटको माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समुहद्वारा हत्या गरिएको थियो।

‘साधुसन्त, पण्डित, पूजारीको हत्याजस्तो जघन्य अपराध भएकोमा अपराधी पत्ता लगाई पीडितलाई न्याय दिलाउन नेपाली धार्मिक समाजले सरकारसँग माग गरेको छ, यसरी माग गर्नु कदापि नाजायज होइन,’ ती संघसंस्थाहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना नागरिकको जिउधनको सुरक्षा दिनु राज्यको कर्तव्य हो र कसैेको पनि ज्यान मारिएको घटनालाई अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्नु राज्यको प्रमुख दायित्व हो।’

निरपराध धार्मिक सन्तको हत्यामा राज्य आफै संवेदनशील भएर न्याय दिनुपर्नेमा उल्टै न्याय माग गर्ने समूहलाई कुदृष्टि राखेकोसमेत उनीहरुले आरोप लगाएका छन्।

‘कतै यो घटनालाई राज्यले निष्पक्ष छानबिन गर्दैन कि भन्ने आशंका जन्माएको छ। यस सम्बन्धमा गृहमन्त्रीको स्पष्ट जवाफ सहितको संवोधन हुन जरुरी छ। अपराधी तत्काल सार्वजनिक गरी पीडितलाई न्याय दिन जोडदार माग गर्दछौं,’ सो विज्ञप्तिमा भनिएको छ, ‘मृतक पूजारी साहलाई धार्मिक शहीद घोषणा गरी परिवारलाई उचित राहत प्रदान गर्न माग गर्दछौं साथै देशका सबै मठमन्दिरका पूजारी, पण्डित पुरोहित, धर्मगुरु, धार्मिक अभियन्ताहरुको सुरक्षामा संवेदनशील हुन सरकार र सुरक्षानिकाय सँग जोडदार माग गर्दछौं।’

राष्ट्रिय धर्मसभा नेपाल, विश्व ज्योतिष महासंघ, विश्व हिन्दु महासंघ नेपाल, विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, श्री कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान, वृहत सनातन महासंघ, नेपाल सनातन धर्म संस्कृति संगठन, विश्व जागरण महाअभियान ट्रष्ट, नेपाल पुरोहित संघ, कृष्णदान वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण केन्द्र र मार्गदर्शन नेपालले सो संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .