बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नुरहरि खतिवडा भन्सार कार्यालय गड्डाचौकीमा एक छलफलमा थिए। त्यही बेला उनीबारे एक खबर सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो। त्यो खबर थियो ‘खतिवडालाई गृह मन्त्रालय तानियो’ शीर्षकको अर्थात उनको सरुवाको।
सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै सरुवाको खबर भाइरल बनेपछि यसबारे जानकारी लिन भन्दै खतिवडा थुप्रै फोन आए। उनी आफैँ यस विषयमा अनभिज्ञ थिए र सोही प्रकृतिको जवाफ दिँदै गए।
छलफल सकेर साढे चार बजेतिर कार्यालय पुगेपछि मात्रै उनलाई सरुवाको बारेमा आधिकारिक जानकारी प्राप्त भयो। बिहान ११ बजेदेखि नै सामाजिक सञ्जालमा फैलिएको खबरबारे बेलुकासम्म गृहका प्रवक्तालाई पनि पत्तो थिएन। साँझमात्रै गृहका प्रवक्ताले सीडीओ खतिवडाको सरुवा भएको जनाएका दिए। खतिवडाको गृहमा सरुवा भएको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले नेपालखबरलाई बताए। उनका अनुसार खतिवडाको ठाउँमा रामकुमार महतालेलाई पठाइएको छ।
एक्कासी किन भयो सरुवा ?
सीडीओ खतिवडाको सरुवाको प्रमुख कारण ‘गौरीफन्टा नाका’बाट हुने अवैद्य कारोबार रोक्न उनले चालेको कदमलाई मानिएको छ। कञ्चनपुरमा पर्ने गौरीफन्टा नाका सदरमुकामदेखि टाढा भएका कारण प्रशासनले व्यवस्थापन गर्न र सुरक्षा दिन सकेको थिएन। नाका खुलेदेखि नै यसको व्यवस्थापन तथा सुरक्षा जिल्ला प्रशासन कार्यालय कैलालीले गर्दै आएको थियो।
खतिवडा प्रजिअका रुपमा कञ्चनपुर आएपछि कैलालीले नाकाको व्यवस्थापन गर्न नसक्ने भन्दै त्यहाँ कार्यरत सुरक्षाकर्मी फिर्ता बोलायो। त्यसपछि गत सातादेखि कञ्चनपुर प्रशासनले नै गौरीफन्टा नाकाको व्यवस्थापन गर्दै आएको थियो।
कैलालीको क्षेत्राधिकारभित्र नपर्ने र कञ्चनपुरबाट टाढा रहेकाले सो क्षेत्रमा विकृति, विसंगति साथै तस्करी मौलायो। भारतबाट अवैध नाका भएर भित्रिने सामग्री गौरीफन्टा नाकाबाट सहजै बजारमा पुग्न थाल्यो। भारतबाट सामान तस्करी गर्ने केन्द्र बनिरहेको गौरीफन्टा नाकाको कञ्चनपुर प्रशासनले व्यवस्थापन सम्हालेपछि सुरक्षा व्यवस्था कडा पारियो। सीडीओ खतिवडाले नाकालाई व्यवस्थित बनाउँदै अवैध क्रियाकलाप र तस्करी रोक्न योजना बुनिरहेका थिए। तस्करलाई यो सह्य हुने कुरा भएन।
नाकाको व्यवस्थापनमा कञ्चनपुर प्रशासन जुटेदेखि नै उनको सरुवाका लागि तस्करहरु शक्ति केन्द्र धाइरहेका थिए। तस्करले नेताहरुलाई गुहारेर उनीहरुकै दबावमा सीडीओको सरुवा भएको स्रोत बताउँछ।
कञ्चनपुरको बेलौरीसम्म कैलाली भन्सारको क्षेत्र हो। कैलाली भन्सारको सानो शाखा गौरीफन्टामा राख्ने विषयमा उनले छलफल गरेका थिए। नाकामा एक्सरे मसिन पनि राखिने र सो नाकाबाट आउने मानिस र ठूला साना, गाडीहरु चेकजाँच गर्ने व्यवस्था मिलाउनेतर्फ पनि प्रशासनले ध्यान दिएको थियो।
खतिवडाले ७ महिनामा के–के गरे?
प्रजिअ खतिवडाको कार्यकालको सबैभन्दा उपलब्धिमूलक पक्ष भने ‘कोरोना नियन्त्रण बाहिर नजानू’ हो। २०७६ माघ अन्तिममा उनी कञ्चनपुर आएका थिए। उनी यहाँको वस्तुस्थित बझ्दै गर्दा त्यही समयमा छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण देखापर्न थालेको थियो।
उनले कोरोना कहरमा भारतसँगको खुला सीमाका कारण उच्च जोखिममा रहेको कञ्चनपुरको प्रशासनिक नेतृत्व कुशलतापूर्वक सम्हाले। भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै फागुनको अन्तिम साताबाट पश्चिमको गड्डाचौकी नाका हुँदै भित्रिनेको संख्या समेत बढ्यो।
कोरोनाको जोखिम उच्च भएपछि वर्षौदेखि चल्दै आएको पूर्णागिरी मेला, नेपाल भारत मैत्री बस सेवा, भारतीय सवारी साधन र नागरिकलाई नाकामा रोक लगाइयो। त्यति मात्रै होइन, देशमै पहिलो पटक चैत्र १० गतेदेखि लकडाउन जारी भयो। गड्डाचौकी नाकाबाट भित्रिएका एक लाख ७० हजार मानिसको व्यवस्थापनको जिम्मेवारी पनि खतिवडाले निर्वाह गरे। जसले गर्दा कोरोनाको उच्च जोखिममा रहेको कञ्चनपुरमा संक्रमण नियन्त्रण बाहिर जान पाएको छैन्।
यसका अतिरिक्त सीमाका विषयमा उनले प्रष्ट विचार राखे। स्ट्रिप नक्साले जिल्लाको विभिन्न ठाउँको भूभाग भारततर्फ देखाएर विवाद सृजना भएको अवस्थामा उनी स्थानीयबासीको साथ अगाडि गएर भारतीय समकक्षीसँग प्रष्ट अडान लिन सफल भए। चोरी, तस्करी, अवैध ओसारपसारका साथै जिल्लाको सम्पूर्ण शान्ति, सुरक्षा सुदृढ पार्नुमा खतिवडा अहोरात्र खटिएकाले कञ्चनपुरबासीको मन जित्न सफल भएका छन्।
आकस्मिक सरुवाले उठायो प्रश्न
‘आकस्मिक’ रुपले सीडीओ खतिवडा कञ्चनपुरबाट सरुवा भएपछि यहाँका स्थानीयहरुले प्रश्न उठाएका छन्। एक प्रशासनिक प्रमुख सरुवा हुँदा कञ्चनपुरको इतिहासमा पहिलो पटक प्रश्न उठेको हो। स्थानीयहरु खतिवडाको सरुवाको स्पष्ट कारण माग गरिरहेका छन्।
सात महिनाको बसाईंमा सीडीओ खतिवडाले कहिल्यै नबिर्सिने छाप कञ्चनपुरबासीमाझ छोडे। उनले आफ्नो सात महिने कार्यकालमा एक निडर राष्ट्रसेवकको रुपमा आफूलाई प्राप्त अधिकारलाई प्रयोग गर्दै उल्लेख्य कार्य गरेको नागरिक समाजका अगुवा प्रभुनिधि पन्त बताउँछन्।
‘उहाँले कोरोना नियन्त्रण, सीमा तथा तस्करी नियन्त्रणमा उल्लेख्य काम गर्नुभयो। कानूनमा टेकेर खरो रुपमा यहाँका जनताको सेवामा लाग्नु भएको थियो।’ उनले भने, ‘हामीलाई एउटा कुशल प्रशासकको अभाव खड्किरहने छ।’ उता गृह मन्त्रालयले पनि सीडीओ सरुवाको स्पष्ट कारण भने खुलाएको छैन्। ‘सरुवा नियमित भइरहन्छ। कतै आफैँले चाहेर हुन्छ। कतै कसैको दबाबमा पनि हुन्छ’, गृहका एक अधिकारीले भने।
‘कानूनको सम्मान गर्दै इमान्दारितापूर्वक जनताको हितमा काम गरेँ’
७ महिने कञ्चनपुर बसाई सुखद् भएको सीडीओ खतिवडाले प्रतिक्रिया दिए। जिल्लाको प्रमुखको जिम्मेवारी सम्हाले पछि आफूले इमान्दारितापूर्वक जनताको हितमा कानूनको सम्मान गर्दै काम गरेको बताए।
‘जनताको साथ सहयोगमा आफूले सकेको जति काम गरेँ। कञ्चनपुरबाट प्राप्त सहयोगबाट सन्तुष्ट छुँ’ नेपालखबरसँग कुराकानी गर्दै सीडीओ खतिवडाले भने, ‘कानूनको सम्मान गरेर इमान्दारितापूर्वक आफ्नो विवेकले भ्याएसम्म जनताको हितमा काम गर्ने प्रयास गरेँ।’
योसँगै कञ्चनपुरमा प्रशासनिक नेतृत्वमा नयाँ अनुहारमा आएका छन्। साउन ३० गते सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका गोकर्ण प्रसाद उपाध्याय पनि अछाममा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएको थियो।
चुनौतीका चाङबीच जिल्लाको नेतृत्व सम्हाल्न आएका रामकुमार महतोले कसरी कार्यसम्पादन गर्छन् त्यो भने हेर्न बाँकी छ।
Shares
प्रतिक्रिया