ad ad

समाज


लामो दूरीमा चल्ने विद्युतीय मिनी बस सञ्चालनमा

लामो दूरीमा चल्ने विद्युतीय मिनी बस सञ्चालनमा

नेपालखबर
असोज २, २०७७ शुक्रबार ५:३९,

नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ।

श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको शुक्रबार एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरेका हुन्। कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन्।

सो अवसरमा उनले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी स्वदेशी विद्युत्बाट सवारी साधन सञ्चालन गर्दा वातावरणीय स्वच्छता कायम हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए। उनले विद्युत्लाई व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिए भोलिका दिनमा विद्युत् खपतको समस्या नरहने र आयातित इन्धनको निर्भरता कम गर्न सकिने बताए।

विश्वका अधिकांश मुलुकहरुले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको अवस्थामा विद्युतीय सवारी साधनलाई कर लगाउनु उपयुक्त नभएको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले यस्ता सवारीलाई प्रोत्साहन पुग्ने गरी नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

बीस सिट क्षमता रहेका ती मिनी बस एनबी ग्रिनटेक इन्टरनेसनल प्रालिले चीनबाट भित्र्याएको हो। कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिकपावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कन्डिसनर, मोवाइल चार्जर, एयरब्यागका साथै आरामदायी फोल्डिङ सिट रहेका छन्। गाडीको अधिकतम् गति ११० किलोमिटर प्रतिघण्टा रहेको उनले जानकारी दिए।

बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईंले यस्ता किसिमका बिजुली बसले वातावरण संरक्षणमा योगदान गर्नुको साथै आफ्नै देशमा उत्पादित बिजुलीको खपत भई आयातित इन्धनको समेत प्रतिस्थापन हुने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .