शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु। झमझम पानी परिरहेको छ। छाता ओढेका मानिसहरुको लामो लाइन अस्पताल बाहिरसम्म आइपुगेको छ। सबैको मनमा एउटै डर छ– कतै कोरोना संक्रमण भयो कि!
त्यसैले झरीको वास्ता नगरी लाइनमा उभिएका छन् उनीहरु। तर, स्वास्थ्य मन्त्रालयको छत्रछायामा रहेको अस्पताल परिसरको दृश्यले सरकारको भनाइ र गराइ कति फरक छ, स्पष्ट देखाउँछ।
अस्पताल कति अस्तव्यस्त छ, संक्रमणको जोखिम लिएर कोरोना परीक्षण गराउन बसेका नागरिकको पीडा, आक्रोश र सरकारी लापरवाही कुन हदसम्म छ, त्यो टेकुमा देख्न सकिन्छ। यसले स्वास्थ्यकर्मी र कर्मचारीलाई अगाडि सारेर सिंहदरबारभित्र बसेकाहरुको चरित्रलाई पनि उदांगो पार्छ।
अस्पतालमा एउटा पीसीआर परीक्षण गराउन नागरिकले कस्तो हण्डर बेहोर्नुपर्छ, म तपाईंलाई विस्तारमा बताउँछु।
अस्पतालमा स्वाब दिएर फर्किंदासम्म कति लाइन बसियो, तपाईं आफैँले बिर्सिनुहुनेछ। त्यसका लागि कम्तीमा पाँच वटा लाइन पार गर्नुपर्ने हुन्छ।
अस्पताल पुगेपछि बिरामी कार्ड त लिनै पर्यो। त्यसैले टेकुमा पनि सबैभन्दा पहिले कार्ड लिन लाइन बस्नुपर्छ। अस्पताल बाहिरसम्म तन्किएको यो लाइन पार गर्न कहिलेकाहीँ घण्टौँ लाग्न सक्छ।
तपाईंले ३० रुपैयाँ तिरेर कार्ड लिएपछि पहिलो लाइन पार भयो।
अब कार्ड बोकेर दोस्रो लाइन बस्नु पर्छ– ज्वरो परीक्षणका लागि। पीपीई लगाएर अस्पताल परिसरमा बसेका स्वास्थकर्मीले थर्मोगनले तपाईंको ज्वरो नाप्छन् र कार्डमा लेखिदिन्छन्।
ज्वरो नापेपछि अर्को लाइनमा जानु पर्छ। यो तेस्रो लाइन टोकन लिनको लागि हो। लाइन कताबाट सुरु भएको छ भन्ने भेउ पाउन पनि मुस्किल हुन्छ।
अस्पताल प्रशासनले भवनका भित्तामा टाँसेको सूचनाअनुसार दिनमा ३ सयभन्दा धेरैको स्वाब संकलन हुँदैन। परीक्षण दायरा सिमित भएका कारण यसभन्दा बढी स्वाब नलिइने सूचना लेखिएको छ।
यदि तपाईं लाइनमा बसेर पनि तीन सयमा पर्नु भएन भने अर्को दिन जानु पर्छ।
‘त्यस्ता व्यक्तिलाई अर्को दिन प्राथमिकता दिइने छ,’ सूचनामा लेखिएको छ।
तर, त्यहाँ पुगेकाले सूचनामा भनिएको जस्तो प्राथमिकता नपाएको बताए।
‘खै, म हिजो आएर टोकन लिएको थिएँ,’ अहिलेसम्म पालो आएको छैन्, ‘स्वाब संकलनका लागि पर्खिरहेका एक युवा भन्दै थिए, ‘प्राथमिकता भन्ने मात्र हो।’
टोकन लिने लाइनपछि टोकन र कार्ड बोकेर चौथो लाइनमा जानु पर्छ। यो कार्ड र टोकन बुझाउने लाइन हो।
अब स्वाब निकाल्ने व्यक्तिकोे कार्ड भित्र लगेर दर्ता गरिन्छ। कार्ड नम्बर र फोन नम्बर दर्ता हुन्छ।
सो व्यक्तिले कार्डको बाहिर आफ्नो फोन नम्बर स्पष्ट लेख्नुपर्छ। स्वाब परीक्षणको नतिजा नेगेटिभ छ भने त्यही नम्बरमा म्यासेज आउँछ। यदि पोजिटिभ छ भने फोन नै आउँछ। त्यसैले नम्बर गल्ती भएमा अर्को पटक फेरि सबै लाइन पार गर्नुपर्ने हुन्छ।
चौथो लाइन पूरा गर्दै गर्दा तपाइको कार्ड भित्र जान्छ। अब केही समय बाहिर कुर्नुपर्छ। अस्पताल परिसर नियाल्दै गर्दा अस्पताल प्रशासनको मात्र होइन, त्यहाँ पुगेको सर्वसाधारणको पनि अनेक तिकडम देख्न सकिन्छ।
कोरोनाको डरले परीक्षण गराउन आएकाहरु पनि कस्ता निडर! समूहसमूहमा आएका मानिसहरुबीच दुरी छैन। भीड गरेर उनी गफगाफमा व्यस्त छन्। अझ कतिको मास्क नाकबाट मात्र होइन, मुखबाट समेत झरेर चिउँडोमा अडिएको हुन्छ। कतिले दुई दुईवटा मास्क लगाएको पनि देखिन्छ, तर नाकमा छैन।
परीक्षण गराउन आएको व्यक्ति संक्रमित छैन भने पनि त्यहीँबाट कोरोना बोकेर आउने डर उत्तिकै छ।
एक कर्मचारी स्वाब टेस्ट गराउन आएका थुप्रै व्यक्तिको कार्ड बोकेर बाहिर आए।
‘कार्ड बुझाउनेहरु यता आउनुस् त,’ उनले भने।
कार्ड बुझाएकाहरु ती व्यक्तिको वरिपरि झुम्मिए।
‘तपाईंहरु मध्ये कसैले नाम पढेर कार्ड बाँड्नुस् त,’ उनले भने, ‘मलाई अंग्रेजी आउँदैन।’
कस्तो व्यवस्थापन हो? कोरोना भाइरस संक्रमणको शंकाले अस्पताल आएका व्यक्तिलाई नै त्यसरी कार्ड बाड्न दिइन्छ। यसको जोखिम कति होला?
कार्ड बाँड्ने व्यक्ति संक्रमित रहेछ भने?
तर, अस्पताल प्रशासनलाई यसको मतलब छैन?
‘यसरी त भएन, कार्ड बाँड्ने व्यक्ति नै संक्रमित रहेछ भने हामी सबैलाई सर्दैन र?’ केही व्यक्तिहरुको यसको विरोध गरे। तर, उनीहरुको आवाज कसैले सुनेन।
ती कर्मचारीले अंग्रेजी आउँदैन भनेर पन्छिएपनि अरु कर्मचारीले पनि उसैगरी सर्वसाधारणलाई कार्ड बाँड्न लगाएको देखियो।
नाम दर्ता भएर कार्ड पुनः तपाईको हातमा आएपछि दर्ता भएका व्यक्तिहरुको सूची बाहिर आउँछ। त्यो सूचनालाई भित्तामा टाँसिन्छ।
अब सूची हेर्ने अर्को भीड। आफ्नो नाम आएको छ कि छैन, कति नम्बरमा छ भनेर हेर्नु पर्ने हुन्छ। त्यही नाम हेर्न तँछाडमछाड हुन्छ। जहाँ केही प्रतिशत व्यक्ति संक्रमित पक्कै हुन्छन्। जसले अरुलाई सार्ने डर धेरै छ।
सूचीमा नाम आएपछि पनि तपाईंले एकछिन पर्खिनुपर्ने हुन्छ। सोही सूचीको अर्को प्रति स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीको टोलीमा पुगेको हुन्छ। तिनले सूचीमा भएको नाम र क्रमसंख्यालाई स्वाब संकलन गर्ने बट्टामा लेख्छन्। त्यसपछि नाम बोलाउँदै प्रत्येक व्यक्तिलाई बाँडिन्छ।
आफ्नो पालो पर्खिरहँदा यहाँ फेरि भीड हुन्छ। कतिखेर नाम आउला भनेर सबै कान टोक्र्याएर कुरिरहेका हुन्छन्।
हुन त स्वास्थयकर्मी पनि चिच्याइरहेका हुन्छन्, ‘कृपया दुरी कायम गरिदिनुस्। भीडभाड नगरिदिनुस्।’ तर, सुन्ने कसले!
यहाँ स्वाब संकलनका लागि बट्टा लिँदै गर्दा हुलमुलमा एउटाको नाम भनेर अर्काको बट्टा दिएको पनि देखियो। तर, त्यो गल्ती स्वास्थ्यकर्मीले तुरुन्तै सच्याए। यदि गलत नाम प¥यो भने घर बस्ने व्यक्ति आइसोलेसन र आइसोलेसन बस्ने व्यक्ति जताततै डुल्दै हिँड्न सक्छ। त्यसैले, सूचीमा टाँसिएको नम्बरअनुसार बट्टामा लेखिएको नम्बर र आफ्नो नाम मिल्छ कि मिल्दैन, राम्ररी हेर्नुपर्छ।
अब पालो अन्तिम अर्थात् पाँचौ लाइनको। स्वाब संकलनको बट्टा पाएपछि त्यो लिएर अर्को लाइन लाग्नु पर्छ। जहाँबाट स्वास्थ्यकर्मीले बट्टा लिँदै उक्त व्यक्तिको स्वाब त्यसैमा राख्छन्।
अस्पतालले त्यसरी लिएको स्वाबको परीक्षण रिपोर्ट ७२ घण्टाभित्र आउँछ भनेको छ। तर, अधिकांश रिपोर्ट अर्को दिन आउँछन्।
यदि रिपोर्ट नेगेटिभ आएको छ भने तपाईंले उपलब्ध गराएको नम्बरमा म्यासेज आउँछ। पोजिटिभ भएमा फोन नै आउँछ।
यहाँनेर पनि केही कुरामा ध्यान पुर्याउनु पर्ने देखिन्छ। एक व्यक्तिको उदाहरण हेरौं। उनी रिपोर्ट लिन अर्को भवनमा लाइनमा बसेका थिए। तर, रिपोर्ट पाएपछि उनी नराम्ररी झस्किए।
‘म्यासेज त नेगेटिभ आएको थियो, यस रिपोर्टमा पोजिटिभ छ त?’ ती व्यक्तिले हतास भएर भने।
‘ओहो! तपाईंले एक पटक ल्याबमा गएर बुझ्नुस है, बुझेर मात्र जानुस्,’ रिपोर्ट उपलब्ध गराएका ती कर्मचारीले भित्रबाट भने। उनी ल्याबतिर लागे।
त्यही लाइनमा अर्को व्यक्ति पनि भेटिए जसले स्वाब दिएको चार पाँच दिन भइसक्दा पनि कुनै म्यासेज वा फोन आएको थिएन। उनले गुनासो गर्दै आफ्नो नामको रिपोर्ट मागे।
‘धन्न नेगेटिभ रहेछ,’ उनले सन्तोषको श्वास फेरे।
टेकु अस्पतालका यी सारा दृश्य देखेपछि स्वास्थ्य मन्त्रालयले हरेक दिन टेलिभिजनबाट सामाजिक दुरी र सुरक्षा अपनाऊँ भनेर फलाकेका कुरा सबै बनावटी जस्तो लाग्छ। आफ्नै अस्पतालभित्रको हालत यस्तो छ।
अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीले जोखिम मोलेर पनि काम गरेका छन् तर अस्पताल प्रशासनले उनीहरु र जाँच गराउन आउनेहरुको सुरक्षाको लागि किन काम गर्न सकेको छैन?’त्यहाँबाट फर्किने हरेकको मनमा प्रश्न उब्जिन्छ।
एउटा व्यक्तिले स्वाब संकलनका लागि मात्र ६–६ वटा लाइन लाग्नुपर्ने नियम कसले बनायो? एउटै लाइनबाट यी सबै काम किन गराउन सकिएन?
कागजमा प्रिन्ट गरेर भित्तामा टाँसिने नामको सूचीलाई डिजिटल माध्यमबाट स्क्रिनमा देख्न सक्ने किन नबनाएको होला? पैसा नभएर त पक्कै होइन। दशौं अर्ब सकिएको घोषणा प्रधानमन्त्रीले नै गरेका छन्। फेरि यो कुनै मुस्किल काम पनि होइन।
भीडभाड नगर्न आग्रह गर्ने अस्पतालको ताल उस्तै छ। अस्पतालले बिरामीको कार्ड वितरण बिहान ९ बजेदेखि नै गर्छ। तर, स्वाब संकलनको काम भने ११ बजेबाट मात्रै हुन्छ।
यो दुई घण्टाको अवधिमा पाँच लाइन पार गरेर धेरै जना स्वाब संकलनका लागि पर्खिरहेका हुन्छन्। भीडभाड कम गराउने हो भने परीक्षणको काम पनि तुरुन्त गर्नुपर्ने होइन र? त्यहाँको छिटो काम सकेर घर पठाउने गर्दा नै भीड कम हुने होइन र?
अझ जोखिमको कुरा त के छ भने पोजिटिभ भएको, गर्भवती, बालबालिका, बुढाबुढीलाई पाँच वटा लाइनमा पर्खिनु पर्दैन भनिन्छ। तर, परीक्षणको बेला भने उही ११ बजेसम्म कुर्नु पर्ने अवस्था छ। एक गर्भवती महिला घण्टौंदेखि कुनामा पालो कुरिरहेकी थिइन्। उनी बेलाबेलामा भीड छिचोल्दै आफ्नो नाम सूचीमा आयो कि आएन भनेर भित्तामा टाँसिएको सूची हेर्न आइरहेकी थिइन्।
यो सबै देख्दा जनताको ज्यान उही पशुपतिनाथले बचाइरहेका छन्जस्तो लाग्छ।
प्रतिक्रिया