ad ad

समाज


‘कुख्यात ठग’को खातामा करोडौंको कारोबार, सांसददेखि मन्त्रीका पत्नीसम्म पीडित

‘कुख्यात ठग’को खातामा करोडौंको कारोबार, सांसददेखि मन्त्रीका पत्नीसम्म पीडित

उजिर कार्की
असोज २०, २०७७ मंगलबार १०:१२,

भारतको दार्जिलिङमा पक्राउ परेका कुख्यात ठग पसल रोकायले करोडौंको कारोबार गरेको फेला परेको छ।

रोकायलाई महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार दार्जिलिङबाट पक्राउ गरेर भरतपुर विमानस्थल हुँदै काठमाडौं ल्याएको थियो। अनुसन्धानका क्रममा उनको बैंक खातामा करोडौंको कारोबार भएको पाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।

उनले सिटिजन बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाडौं, सनराइज बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकमा २ करोडको कारोबार गरेको फेला परेको छ। यसबाहेक पनि कारोबार हुन सक्ने प्रहरीको अनुमान छ। यी खातामा करोडौंको कारोबार भएको देखिएपछि थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए।

जुम्लाको कनका सुन्दरी गाउँपालिका-७ का रोकायबाट पीडित हुनेको संख्या दिनदिनै थपिन थालेपछि प्रहरीले प्रक्राउ गर्न विशेष टोली खटाएको थियो। लामो समयको अनुसन्धानपछि प्रहरीले रोकाय दार्जिलिङमा बसेर ठगीको धन्दा चलाइरहेको पत्ता लगाएको थियो।

रोकायले सामाजिक सञ्जालमा फरक-फरक व्यक्तिको आइडी आफैँ बनाउने र उनीहरुसँग आफैँ कुराकानी गरेको च्याट देखाएर अन्य व्यक्तिलाई ठग्ने गरेको खुलेको छ।

उनले खिरिस निर्माण सेवा र संबिधान निर्माण सेवा आफ्नो नाममा दर्ता गरेको र ठेक्कापट्टा पनि गर्ने गरेको पाइएको छ। हाल ठगी मुद्दा चलिरहेको शुभलक्ष्मी अस्पतालको अध्यक्ष समेत उनी रहेको पाइएको काठमाडौं प्रहरीले जनाएको छ।

यस्तै उनले संबिधान कलेज हालसालै दर्ता गरेका छन्। जसमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसि लगायतको पढाई गराउने भनिएको छ।

रोकायले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकी पत्नीको नाममा उनकै फोटो राखेर फेसबुक सञ्चालन गरेको पाइएको छ। मन्त्री भट्टराईकी पत्नी बिन्दा घिमिरेको नाममा फेसबुक चलाएर ठगीको सहायता लिने गरेको पाइएको छ। घिमिरे नर्सिङ काउन्सिलको रजिस्टार छिन्। उनले रकम लिएर जागिर लगाइदिने भन्दै च्याट गरेको स्क्रिनसर्ट देखाएर रकम लिने गरेको पाइएको छ।

सांसदहरुको नाममा समेत उनले फेसबुक सञ्चालन गरेको खुलेको छ। ती आइडीबाट पनि जागिरमा लगाइदिने बहानामा ठगी गरेका छन्। पूर्व सांसद देविलाल थापादेखि प्रदेश सांसद पदम रोकायसम्मका नाममा उनले नै फेसबुक चलाएको पाइएको छ।

कतिपय ठगीएका पीडितबाट छुटकारा पाउनका लागि ती नेता तथा सांसदको समेत चरित्र हत्या गर्दै सञ्चारमाध्यममा प्रकाशन प्रसारण गर्ने गरेको पाइएको छ। रोकायले सञ्चालन गरेको कर्णाली आवाज अनलाइन र यूट्युवबाट चरित्र हत्या गर्ने गरेको खुलेको छ।

रोकायको निशानामा विशेष गरी नर्सिङ पेशामा आवद्ध व्यक्तिहरू परेका छन्। सीटीईभीटीई तथा नर्सिङमा नाम निकालिदिन्छु भनी यौन दुर्व्यवहार तथा ब्ल्याकमेल गर्ने गरेको समेत पाइएको छ।

आफ्नो उच्च पदस्थ व्यक्तिहरुसँग राम्रो चिनजान रहेको भन्दै उनले फसाउने गरेका थिए। उनीविरुद्ध पहिले पनि पटक पटक साईबर अपराध तथा ठगी मुद्दा चलेको थियो।

रोकायले एक युवतीलाई नर्सिङ काउन्सिलको परीक्षामा उतीर्ण गराईदिन्छु भन्दै ७० हजार रुपैयाँ माग गरेका थिए। तर उनले त्यो रकम दिन नमानेपछि उनकै नाममा फेसबुक खोलेर ब्ल्याकमेल तथा पीडितको चरित्रहत्या गर्न थाले।आफूविरुद्ध रोकाय त्यसरी लागेको भन्दै युवती प्रहरी परिसर काठमाडौं पुगेकी थिइन्। तर रोकाय भने फरार थिए।

अर्की युवतीलाई भने उनले ७० हजार रुपैयाँ ठगी गरेको पाइएको छ। उक्त मुद्दामा परिसरले अनुसन्धान गरिरहेको छ।

यस्तै उनले एक युवतीसँग विवाह पहिले आफ्नो सम्बन्ध छ भन्दै उनका श्रीमानलाई फोटो पठाउने गरेका थिए। आफ्नी श्रीमती भगाइदिने भन्दै रोकायले भनेको भन्दै ती पुरुषले परिसरमा जाहेरी दिएका छन्। उक्त मुद्दामा पनि अनुसन्धान गरिएको थियो।

यस्तै उनले राष्ट्रिय अनुसन्धानको जागिर लगाइदिन्छु भन्दै एक जनासँग ४ लाख र अर्का व्यक्तिसँग २ लाख रुपैयाँ ठगी गरेको पनि जाहेरी परेको छ।

पसल रोकाय उपर नेपाल मेडिकल काउन्सिल काठमाडौंको पत्र जाहेरीले ठगी सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठगी मुद्दा रहेको छ। त्यहाँ पनि उनी फरारको सूचीमा छन्।

यस्तै उनले विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने गरेको र नदिए समाचार बनाएर गाली बइजेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। उनीबारे थप अनुसन्धान भइरहेको एसपी राठौरले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .