अमेरिकामा बैंक लुटपाट गरिरहेका बेला एक युवक पक्राउ परेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेरिल्यान्डस्थित बैैंकमा लुटपाट गर्दागर्दै सम्राट लामा नाम गरेका ३० वर्षीय व्यक्तिलाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो।
मंगलबार बिहान १० बजेतिर ६०७ नर्थ फेडरिक एभिन्युस्थित वेल्स फार्गो बैंकमा लुटपाट हुन थालेपछि कर्मचारीले फोन गरेर प्रहरी बोलाएका थिए। फोन गरेको २ मिनेटभित्रै प्रहरीको टोली पुगेर उनी भाग्न नभ्याउँदै नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सुरुमा लामाले आफू बचत खाता खोल्न आएको भनेर बैंकका कर्मचारीलाई भनेका थिए। तर तुरुन्तै उनले झोलाबाट चक्कु झिकेर कर्मचारीलाई देखाए र पैसा निकालेर आफ्नो झोलामा राख्न चेतावनी दिए।
त्यसपछि पनि लामाले बैंकका अन्य शाखामा गएर अरू थुप्रै रकम मागिरहेका थिए। त्यसैबीच पुगेको प्रहरी टोलीले उनलाई पक्रेको हो।
तर उनी कुन देशका नागरिक हुन् तथा त्यहाँ कुन ठाउँमा बस्छन् भन्ने विस्तृत विवरण प्राप्त भइसकेको छैन।
प्रतिक्रिया