ad ad

समाज


प्रदेश २ मा शिक्षा बीमा गराएका २७ हजार छोरीका घरमा निःशुल्क इन्टरनेट जडान गर्ने तयारी

प्रदेश २ मा शिक्षा बीमा गराएका २७ हजार छोरीका घरमा निःशुल्क इन्टरनेट जडान गर्ने तयारी

शैलेन्द्र महतो
असोज २२, २०७७ बिहिबार ६:४५,

प्रदेश २ मा झण्डै २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट जडान हुने भएको छ।

प्रदेश २ सरकारले चलाएको शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी भएको हो।

२ माघ २०७६ यता जन्मेकी छोरीको शिक्षा बीमा गराउने २६ हजार ९५६ घरधुरीमा इन्टरनेट जडानको तयारी भएको अभियानकी संयोजक प्रियंका यादवले जानकारी दिइन्।

छोरी बीमाको लागि माघ २ गतेखि प्रदेश २ को १३६ वटै पालिकामा छोरी शिक्षा बिमाको शिविर सञ्चालन गरिएको थियो। कोरोना महामारी फैलिएपछि गएको चैतमा लकडाउन हुँदादेखि नै छोरी शिक्षा बीमा प्रभावित बनेको छ। त्यसयता केही पालिकाहरु असारसम्म थोरै संख्यामा छोरीको बीमा गरिएको संयोजक यादवको भनाइ छ।

महोत्तरीको लोहारपट्टी नगरपालिको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले सोही नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भएको संयोजक यादवले जानकारी दिइन्। उनका अनुसार प्रदेश २ का सबै १३६ पालिकाले छोरी बीमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने छ।

सुविसु इन्टरनेट कम्पनीले बीमा भएको ती छोरीहरुको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

महिला हिंसा न्यूनीकरण, छोरीप्रतिको हेर्न दृष्टिकोण परिवर्तन तथा छोरीको राम्रो शिक्षादीक्षाको लागि प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाइएको छ। जसअन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम सञ्चालनमा छ। जसमा छोरी जन्मिनेबित्तिकै प्रदेश सरकारले ३७ हजार रुपैयाँ तिरेर ३ लाख रुपैयाँको बीमा गरिदिन्छ। जुन छोरीले २० वर्षपछि पाउने छन्। सुरुमा २०७५ मा योजना एक जना छोरीलाई १३ हजार ६ सय ४६ रुपैयाँ १५ पैसा तिरेर १ लाखको बीमा प्रदेश सरकारले गर्ने गरेको थियो।

जन्मिनेबित्तिकै छोरीलाई शिक्षा बीमातर्फ घरपरिवारलाई आकर्षित गराउन प्रदेश सरकारले निःशुल्क इन्टरनेट जडान प्याकेज ल्याएको थियो।

मुख्यमन्त्री कार्यालयसँग माघदेखि यता २६ हजार ९५६ छोरीको बीमा भएको तथ्यांक छ भने प्रभु बैंकसँग २८ हजार ४५७ छोरीको बीमाको तथ्यांक रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। लकडाउनको अवधिमा पनि केही पालिकाहरुले बीमा गरेकाले सो तथ्यांक प्रभु बैंकसँग रहेकाले बढेको हुन सक्ने संयोजक यादवले बताइन्।

प्रदेश सरकारले छोरी शिक्षा बीमा गर्न दुई वर्ष अर्थात् असार २०७६ सम्मको लागि प्रभु बैंकसँग सम्झौता गरेको थियो। जसमा २ माघ २०७६ देखि छोरीको बीमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने पनि सम्झौता भएको थियो।

प्रभु बैंकसँगको सम्झौताका मिति सकिएकाले पुनः अर्को सम्झौताका लागि टेन्डर आह्वान गर्न बुधबार बेटी पढाऊ, बेटी बचाऊ निर्देशक समितिको बैठक बसेको थियो। मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा रहेको १३ सदस्य समितिको बसेको बैठकले पुनः छोरी शिक्षा बिमा सुरु गर्ने, प्रभावकारी ढंगले अगाडि बढाउने, इन्टरनेट जडान गर्नेलगायतका विषयमा छलफल तथा निर्णय भएको अभियानकी संयोजक यादवले जानकारी दिइन्।

निर्देशक समितिमा मुख्यमन्त्री संयोजक, मुख्यमन्त्री कार्यालयका मुख्य सचिव, सचिव, एक उपसचिव, एक शाखा अधिकृत र आठवटा जिल्लाका एक एक जना महिला सदस्य छन्।

सुरुमा २०७५ माघदेखि यता जन्मेको छोरीको ६ महिनासम्ममा शिक्षा बीमा गराउने प्रावधाना रहेको थियो। तर पछिल्लो समय माघ १, २०७५ यता जन्मेको छोरीको कुनै पनि समयमा शिक्षा बीमा गराउने प्रावधान मुख्यमन्त्री कार्यालयले तयार पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .