नेपालमा औपचारिक गणित शिक्षाको पितामह मानिने प्राध्यापक राममान श्रेष्ठको निधन भएको छ।
पूर्वसांसद समेत रहेका ८२ वर्षीय श्रेष्ठको शुक्रबार काठमाडौंको भिमसेनगोलास्थित आफ्नै निवासमा निधन भएको हो।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का प्राज्ञ प्राध्यापक श्रेष्ठ त्रिभुवन विश्वविद्यालयको पूर्व शिक्षाध्यक्ष हुन्।
‘बीपी कोइराला, पुष्पलाललाई हटाउने हो भने नेपाली राजनीतिको इतिहास अपुरो हुन्छ। नेपालमा गणित क्षेत्रमा राममान श्रेष्ठ त्यस्तै व्यक्तित्व हो,’ गणित विज्ञान ट्रष्टका सचिव रुद्रहरी ज्ञवालीले भने, ‘गणितको विकासमा उहाँ सँधैभरी लागिरहनुभयो। राजनीतिमा पनि उहाँको सक्रियता उस्तै थियो।’
२०१६ सालमा त्रिभुवन विश्वविद्यालयकाले गणित विभागको गठन गरेर अध्यापन सुरु गर्दा तीन जना विद्यार्थी थिए।
ती तीनमध्ये एकजना थिए उनै राममान। पछि त्यही गणित विभागमा उनले लामो समय प्राध्यापन गरे। नेपालमा गणितको पाठ्यक्रम विकासमा अनवरत लागेका श्रेष्ठ माध्यमिक शिक्षाको गणित पाठ्यक्रम विकासमा पनि निरन्तर सहभागी रहे।
श्रेष्ठले बनारस विश्वविद्यालयबाट गणितमा विद्यावारिधी गरेका थिए। उनी २०२३ सालमा त्रिभुवन विश्वविद्यालयमा गणितको अध्यापन शुरु गरेका हुन्।
‘धेरैअघि विभागमा प्रमुख हुनुपर्ने हो, तर बनाइएन,’ श्रेष्ठसँगै प्राध्यापन गर्ने प्राध्यापक शंकरराज पन्तले भने।
२०२८ सालमा नयाँ शिक्षा लागु भएपछि नेपालमै गणित पुस्तक निकाल्नु पर्छ भनेर श्रेष्ठ लागेका थिए।
श्रेष्ठसहितको समुहले लेखेको ‘बेसिक म्याथम्याटिक्स’ क्याम्पस तहमा पढाइ हुन्थ्यो। परम्परागत गणितमा पनि उनको निकै लगाब थियो।
‘उहाँ २०३६ सालमा युरोप भ्रमणबाट फर्केपछि गणित विषयको पाठ्यक्रम पुरानो भयो भनेर नयाँ पाठ्यक्रम बनाएको हो,’ काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार तथा गणितका प्राध्यापक भद्रमान तुलाधारले भने, ‘गणितज्ञहरुलाई संगठित गर्नमा पनि उहाँको भूमिका छ।’
तुलाधरका अनुसार नेपाल गणित समाज पनि श्रेष्ठकै सक्रियतामा स्थापना भएको हो।
सो समाज २०३७ सालमा स्थापना भएको थियो भने श्रेष्ठ २०४४ सालमा त्यसको अध्यक्ष भए।
‘उहाँले मिलेर काम गरौं भन्ने प्रस्ताव गरेपछि म समाजको उपाध्यक्ष भएँ,’ तुलाधारले स्मरण गरे। श्रेष्ठ पञ्चायतकालमै नेपाल प्राध्यापक संघको अध्यक्ष बनेका थिए।
‘परम्परागत गणितमा पनि उहाँले अनुसन्धान गर्नुभएको थियो। नेपालमा मल्लकालमा कसरी गणितको प्रयोग गरिन्थ्यो भनेर पनि उहाँले अध्ययन गर्नुभएको थियो,’ तुलधारले भने।
२०४७ मा बहुदलीय प्रजातन्त्र स्थापना भएपछि श्रेष्ठ विश्वविद्यालयको शिक्षाध्यक्ष बने। ‘२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा विश्वविद्यालयको उपकुलपति बन्ने प्रस्ताव गर्नुभएको थियो। तर उहाँले त्यसलाई अस्वीकार गर्नुभयो,’ तुलधारले भने।
२०५४ बाट २०६० सम्म श्रेष्ठ नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभाको सांसद रहे। २०६४ सालमा भएको संविधा सभाको पहिलो चुनावमा श्रेष्ठ नेकपा माओवादीको उम्मेदवारको रुपमा काठमाडौ–१ बाट चुनाव लडेका थिए।
‘मैले उहाँसँग तपाईं कहिलेदेखि कम्युनिष्ट पार्टीमा सहभागी हुनुभएको भनी सोध्दा उहाँले आफू नेपालको पहिलो वाइसिएल (योङ कम्युनिष्ट लिग) सदस्य भएको बताउनुभएको थियो,’ प्राध्यापक पन्तले भने। तर ज्ञवालीका अनुसार पछिल्लो समयमा भने उनी राजनीतिक दलका गतिबिधिबाट असन्तुष्ट थिए।
एक दशकअघि नै श्रेष्ठमा प्रोस्टेटको क्यान्सर भएको पत्तालागेको थियो।
‘तर स्वास्थ्यका कारण सरले कहिले पनि आफ्नो सक्रियता घटाउनु भएन,’ ज्ञवालीले भने, ‘पछिल्लो समयमा ह्विल चेयरमै भए पनि कार्यक्रममा पुग्नुहुन्थ्यो।’
श्रेष्ठको १९९५ सालमा काठमाडौंको ओटुमा जन्म भएको हो। उनका दुई छोरा र नातिनातिना लगायतको परिवार छ।
Shares
प्रतिक्रिया