समाज


सुत्केरी आमाको सास्ती: सुर्खेतमा दुईपटक शल्यक्रिया, हेलिकप्टरबाट काठमाडौँ लगिए पनि बाँचिनन्

सुत्केरी आमाको सास्ती: सुर्खेतमा दुईपटक शल्यक्रिया, हेलिकप्टरबाट काठमाडौँ लगिए पनि बाँचिनन्

दिनेश बुढा
बैशाख ५, २०८३ शनिबार १७:३७, सुर्खेत

सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना भएकी कालिकोटकी २७ वर्षीया भावना विष्टले सुर्खेतमा शिशुलाई त जन्म दिइन् तर त्यसपछि देखिएका जटिलताको उपचार गर्न काठमाडौँ ल्याइए पनि ज्यान गुमाएकी छन्। 

कालीकोटको नरहरिनाथ गाउँपालिका-३ की भावनाको सुत्केरी व्यथा लागेपछि गत चैत ३० गते बेलुका सवा ६ बजे सुर्खेतस्थित प्रादेशिक अस्पताल भर्ना भएकी थिइन्। सुत्केरी गराउन गाह्रो भएपछि अस्पतालको विशेषज्ञ चिकित्सक टोलीको सल्लाहमा तुरुन्तै आपतकालिन शल्यक्रिया गरिएको थियो। 

शल्यक्रिया गरेर भावनाले छोरीलाई जन्म दिइन्। पहिला एउटा छोरा भएकाले दोस्रो सन्तान छोरी हुँदा घरपरिवारमा खुशी छाएको थियो। तर, खुशी धेरै समय टिकेन। उनको स्वास्थ्य अवस्था झनझन जटिल बन्दै गयो। 

उनको शल्यक्रिया भएको २४ घण्टापछि घाउमा रगत देखियो। अस्पतालले फेरि शल्यक्रिया गर्नुपर्ने बतायो। भावनाका परिवारजन घाउमा जमेको रगत सफा गर्नका लागि अर्को शल्यक्रिया गर्न मन्जुर भए। 

नरहरिनाथ गाउँपालिका-३ का गोकर्णप्रसाद उपाध्याय अस्पतालको सल्लाह अनुसार दोस्रो शल्यक्रिया गरिएको बताउँछन्। ‘नर्मल सुत्केरी हुन नसकेपछि शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो। त्यसको २४ घण्टापछि रगत जमेको भन्दै अस्पतालले फेरी शल्यक्रिया गर्नुपर्ने बतायो,’ उपाध्यक्ष भन्छन्। 

दोस्रो शल्यक्रियापछि भावनाको स्वास्थ्य अवस्था थप जटिल बनेको उनको भनाइ छ। अस्पतालले पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएको जनाइएको थियो। 

चार दिन प्रदेश अस्पतालमै उपचार भएको थियो। त्यसपछि अस्पताले उनको थप उपचारका लागि ‘हाइ लेभल क्रिटिकल केयर’ भएको अस्पतालमा लग्नुपर्ने बताएको थियो। 

आफन्तले अस्पतालको सल्लाह अनुसार भावनालाई थप उपचारका लागि काठमाडौँ लग्न तयार भए। अस्पतालले पनि वैशाख ४ मा काठमाडौँ मेडिसिटी अस्पतालमा उपचार लागि रेफर गरेको थियो। 

प्रदेश अस्पतालका अनुसार, वैशाख ३ गते नै भावनालाई काठमाडौँ लग्न अनुमति दिइएको थियो। तर, चिकित्सकीय टोलीसहितको हेलिकप्टर आउन सकेन। त्यो दिन प्रदेश अस्पतालमै उपचार गर्नुपर्‍यो। 

अर्को दिन वैशाख ४ गते मात्रै चिकित्सकीय टोलीसहितको हेलिकप्टरमार्फत काठमाडौँ लगियो। तर, मेडिसिटी अस्पतालमा पुगेको केही समयपछि चिकित्कसले मृत घोषणा गरे। 

प्रदेश अस्पताले प्रेस विज्ञप्ति जारी गरेर भावनाको गर्भावस्थामा उच्च रक्तचापसँग सम्बन्धित जटिल समस्या ‘प्रि-एक्लाम्सिया’ तथा ‘एक्लाम्सिया’ को जोखिम देखिएपछि शल्यक्रिया गरेको जानकारी दिएको छ। त्यसपछि चिकित्सकको सल्लाहअनुसार तत्काल आपतकालीन शल्यक्रिया गरिएको शल्यक्रियापछि पनि बिरामीको अवस्था सुर्धिन नसकेको अस्पतालको भनाइ छ। 

‘शल्यक्रियापश्चाप स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर प्रयास गरिए पनि रक्तचाप नियन्त्रणमा समस्या, मुत्र उत्सर्जनमा कमी, मिर्गौलाको कार्यसम्बन्धी जटिलता बढेको कारण संवेदनशिल ढंगले उपचारको व्यवस्थापन गरिएको थियो,’ अस्पतालले भनेको छ। 

त्यस्तै, तेस्रो दिनमा पनि बिरामीको अवस्थामा सुधार नआएको तथा मिर्गौलाले राम्रोसँग काम नगरेको (सीरम क्रिएटिनिन) बढ्दै गएको, रगतमा अक्सिजन मात्रा कम भएको, घाउको पट्टी रगतले भिजेको हुनाले अवस्थाको संवेदनशीलतालाई मध्यनजर गर्दै पुनः शल्यक्रिया गरिएको जनाएको छ। दोस्रो पटक शल्यक्रिया गरेर हेर्दा ‘एक्टिभ ब्लीडिङ’ नदेखिएकाले सफा गरि आवश्यक उपचार गरिएको विज्ञप्तिमा उल्लेख छ। 

बिरामीलाई सघन उपचार कक्षमा राखी कृत्रिम सासप्रश्वास (भेन्टिलेटर) मार्फत उपचार गरिएको भए पनि सुधार हुन सकेन। अन्ततः उनको स्वास्थ्य अवस्था ‘मल्टिपल अर्गन डिस्फङ्सन’ मा पुगेको अस्पतालको भनाइ छ। 

आफन्तका अनुसार, आठ लाख रुपैयाँ तिरेर हेलिकप्टरमा चिकित्सकीय टोली सुर्खेत पुगेर भावनालाई काठमाडौँ पुर्‍याएको थियो। समयमै रिफर नगरेको उनीहरूको गुनासो छ। ‘औपचारिकता निभाउन तथा अस्पताललाई दोष नआयोस भन्नका लागि काठमाडौँ पठाएको रहेछ,’ उपाध्याय गुनासो गर्छन्।

भावनाको नरहरिनाथ गाउँपालिका-३ का इन्जिनियर राजकुमार विष्टसँग केही वर्षअघि विवाह भएको थियो। उनीहरूको जेठो छोराको उमेर तीन वर्ष पुगेको छ। 

शनिबार बिहान उनको शव काठमाडौँबाट सुर्खेत ल्याएको थियो। शनिबार दिउँसो नै भेरी नदीमा अन्त्येष्टि गरिएको बताउँदै उपाध्याय भन्छन्, ‘छोरीलाई जन्म दिइन् तर आफ्नो छोरीको अनुहार राम्रोसँग हेर्न समेत पाइनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad