झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआईभी संक्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआईभी संक्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए।
आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र आव २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उनले बताए।
'उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्य झरेको छ,' उनले भने, 'तर, मृत्युदर भने बढेको छ ।'
चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआईभी संक्रमित फेला परेका छन् । नयाँ एचआईभी संक्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन्।
झापामा हालसम्म नयाँ तथा पुराना गरी ८०६ जना एचआईभी संक्रमितले नियमित एआरटी सेवा लिइरहेका छन्। जिल्लामा कुल एचआईभी संक्रमितमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका रहेको फोकल पर्सन दासले बताए।
स्वास्थ्य कार्यालय झापा र लवकुश आश्रमद्वारा १८ वर्षमुनिका संक्रमित बालबालिकाका लागि प्रतिमहिना १/१ हजारका दरले सहयोग प्राप्त भइरहेको छ। नयाँ सचेतना समूह भद्रपुरमा रहेकोमा ३० जना सबै बालबालिकाले एआरटी सेवा लिँदै आइरहेका छन्।
झापामा आव २०७९/८० मा नयाँ ७० जना र पुरानो गरी ६६३ जना, आव २०८०/८१ मा नयाँ ७४ जना र पुरानो गरी ७५० जना र आव २०८१/८२ मा नयाँ ५६ जना र पुरानो ७८४ जना एचआईभी संक्रमित उपचाररत रहेको कार्यालयको तथ्यांक छ। रासस
Shares

प्रतिक्रिया