बाँकेका विभिन्न स्थानमा शनिबार साँझदेखि लगाइएको निषेधाज्ञा जारी छ।
बडादशैँको दूर्गा मूर्ति विसर्जन गर्ने क्रममा झडपको स्थिति सिजना भएपछि स्थानीय प्रशासनले बाँकेमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार साँझ ७ बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सूचना जारी गर्दै दुर्गा माताको मूर्ति विसर्जन गर्ने क्रममा जिल्लाका विभिन्न स्थानमा हिन्दु र मुस्लिम समुदायबीच झैझगडा भएको कारण निषेधाज्ञा जारी गर्नु परेको बताएका छन्।
स्थानीय प्रशासनले डुडुवा गाउँपालिका-६ नेपालगञ्ज उपमहानगरपालिका १४, १५ र २३ तथा नरैनापुर गाउँपालिका- ५ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञा लागु भएका स्थानमा पाँचजनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, जुलुस वा र्याली गर्न, धर्ना, सभा(समारोह गर्न, हतियार बोक्न र उच्छृङ्खल गतिविधि गर्न निषेध गरिएको छ।
स्थानीय प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ। शान्ति, सुरक्षा र धार्मिक सद्भाव कायम गर्न सहयोग गर्न समेत कार्यालयले अनुरोधसमेत गरेको छ।

Shares

प्रतिक्रिया