बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेले आफू जमैकाको खेल सकिनासाथ नेपाल फर्किने बताएका छन्।
नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीलाई सम्पर्क गर्दै उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै लिग सकेर नेपाल फर्किने बताएका हुन्।
‘सन्दीपले हामीलाई बुधबार सम्पर्क गरेको थियो। उसले लिग खेलेर नेपाल फर्किने बताएको छ। हामीलाई राम्रो वकिल को छ, खोजिदिनुपर्ला भन्थ्यो’, क्यानका एक पदाधिकारीले भने।
मंगलबार प्रहरीमा १७ वर्षीया किशोरीले लामिछानेमाथि बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी छिन्। उनको जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। केन्या भ्रमणमा जानुअघि उनीहरु पुगेका भक्तपुर र काठमाडौंका होटलबाट सीसीटीभी फुटेज संकलन गरेको छ। फुटेजबाट उनीहरु ती ठाउँमा पुगेको पुष्टि भएको प्रहरीले बताएको छ।
५ गते साँझ नगरकोट पुगेका उनीहरु त्यस रात सिनामंगलस्थित एक होटलमा बसेका थिए। राति होटलमा पुगेका उनीहरु बिहानसँगै बाहिरिएको फुटेजबाट पनि पुष्टि भइसकेको छ।
किशोरीले सिनामंगलकै होटलमा राति पटक–पटक बलात्कार गरेको आरोप लगाएकी छिन्।
सन्दीप भने केन्यामा एक दिवसीय क्रिकेट खेल्नुपहिले नै क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज प्रस्थान गरेका थिए। लिगको फाइनल खेल अक्टोबर १ मा हुनेछ। उनी आबद्ध जमैका फाइनलमा पुगे र प्रहरीले तत्काल नझिकाए सन्दीप त्यसपछि मात्रै नेपाल फर्किनेछन्।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने जानकारी दिए।
‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदि सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ,’ क्यान अध्यक्ष चन्दले भने।
उनले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए।
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्ट इण्डिजको जमैकामा छन्।
त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए।
Shares
प्रतिक्रिया