‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख अमृतपाल सिंह खुला नाकाको फाइदा उठाउँदै नेपाल पस्न सक्ने भन्दै भारतीय प्रहरीले महाकालीपारि सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।
खालिस्तान समर्थक सिंहसहित पाँचजना समर्थकको नाममा पञ्जाब प्रहरीले वारेन्ट जारी गरेर खोजी तीव्र पारेको छ।
उनी कञ्चनपुरको दोधारा चाँदनीसँग सीमा जोडिएको उधमसिंह नगर जिल्लामा आश्रय लिएर बसेकोे आशंका गरिएको छ।
त्यहाँबाट खुला नाकाको मौका छोपेर नेपाल पस्न सक्ने भन्दै भारतीय प्रशासनले सीमा क्षेत्रमा अतिरिक्त प्रहरी बल तैनाथ गरेको छ।
कट्टरपन्थी सिंह र उनका चारजना सहयोगी पञ्जाबबाट फरार भएका थिए। नेपालतर्फ भाग्न सक्ने भन्दै त्यहाँको प्रहरीले सतर्कता अपनाएको छ।
सार्वजनिक र धार्मिक स्थानहरुमा पाँचै जना आरोपितको पोष्टर टाँस गरिएका छन्।
सोसल मिडियामा पनि लगातार प्रहरीले निगरानी बढाएको छ। खालिस्तानका विषयमा अपलोड गरिएका पोस्टहरुमा लाइक र शेयर गर्नेलाई पनि प्रहरीले काउन्सिलिङ गरिरहेको छ।
आपत्तिजनक पोष्ट गर्ने एकजना युवालाई पक्राउ गरिसकेको भारतीय प्रहरीले जनाएको छ।
किसान आन्दोलनमा सक्रिय केही मानिसहरुमाथि पनि निगरानी बढाइएको छ।
प्रहरीले सिंह र उनका सहयोगीमाथि ‘लुक आउट’ सर्कुलर जारी गरेको जनाएको छ।
उनी नेपालतर्फ भाग्न सक्ने भन्दै नेपाल सीमासँग जोडिएको खटिमा क्षेत्रमा विशेष चेकिङ अभियान चलाइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
रोडवेज, रेलवेसहित कयौँ स्थानमा पाँचै जना आरोपितको पोष्टर टाँसिएको छ। तत्काल सूचना दिन पनि भनिएको छ।
एसपी मनोज कत्यालले सोसल मिडिया र सीमा प्रहरीलाई अलर्टमा राखेको बताए।
प्रहरीले मेलाघाटस्थित नेपाल–भारत सीमामा सवारीसाधनको खानतलासी सघन पारेको छ।
यस्तै सीमावर्ती बस्ती नानकमत्ता, खटिमा र झनकईया थाना क्षेत्रमा पनि सुरक्षा जाँच कडा पारिएको बताएको छ।
सिंह र उनका समर्थकलाई आश्रय दिनेहरुमाथि कडा रबैया अपनाउने प्रहरीको भनाइ छ।
अमृतपाल सिंहसँगै पीपी सिंह, हरजीत सिंह, विक्रमजीत सिंह र हरप्रित सिंहको खोजीमा प्रहरी जुटेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले सीमा क्षेत्रमा हुने गैरकानूनी गतिविधि रोक्न दुवै देशका सुरक्षा निकाय नियमित समन्वयमा हुने गरेको बताए।
तर यस घटनाबारे भारतीय प्रहरीले नेपाली सुरक्षा निकायसँग कुनै समन्वय नगरेको उनले बताए।
को हुन् सिंह?
फरार रहेका सिंह पञ्जाव राज्यस्थित अमृतसर जिल्लाको जल्लुपुर खेडा गाउँका बासिन्दा हुन्।
उनले केही समय दुबईमा काम गरेका थिए। त्यहाँबाट भारत फिरेपछि खालिस्तानी समर्थक दीप सिद्धुको संगठन ‘वारिस पंजाब दे’ मा जोडिएका हुन्।
दीप सिद्धुको हालै सड़क दुर्घटनामा मृत्यु भएको थियो। किसान आन्दोलनको बेला दिल्लीको लालकिल्लामा भएको हिंसात्मक घटनाको आरोप पनि उनीमाथि लागेको थियो।
इन्डिया टुडेको एक रिपोर्ट अनुसार सिद्धु खालिस्तान अभियान सञ्चालन गर्ने जर्नेल सिंह भिंडरावालेको समर्थक थिए।
खालिस्तानी समर्थक अमृतपाल सिंह पनि अलग सिख राज्यको माग गर्दै आइरहेका छन्। उनी सिख धर्मको प्रचारका लागि अमृत सञ्चार अभियान चलाउँछन।
उनले पहिलो अमृत प्रचार अभियान राजस्थानको श्रीगंगानगरबाट सुरु गरेका थिए। धेरै स्थानमा आयोजित कार्यक्रममा अमृत ग्रहण गर्नेको संख्या सयौँ थियो। उनीहरु अमृत ग्रहणपछि खालसा सिखको हिस्सा बनेका थिए।
धेरैलाई सिंहले खालसा सिख बनाए। यसबीचमा उनले नसाविरोधी अभियान पनि चलाइरहेका थिए।
प्रतिक्रिया