ad ad

खेल


आसिफको अर्धशतकमा मलेसियामाथि नेपाल ६ विकेटले विजयी

आसिफको अर्धशतकमा मलेसियामाथि नेपाल ६ विकेटले विजयी

नेपालखबर
चैत १६, २०७८ बुधबार १५:२१, काठमाडौँ

आशिफ शेखको अर्धशतक मद्दतमा नेपालले टी २० आई त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ।

बुधबार भएको सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सहज जित निकालेको हो। 

सिरिजमा मलेसियाले भने पहिलो हार भोगेको हो। मलेसियाले सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई ८ रनले हराएको थियो।  

मलेसियाले दिएको १ सय १५ रनको सामान्य लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। 

आशिफ शेखले ५७ रनको महत्वपुर्ण योगदान दिए। ३८ बलको सामना गरेका उनले ७ चौका र १ छक्का हाने। उनी १२ ओभरको तेस्रो बलमा लामो सट खेल्ने धुनमा हुँदा क्याच आउट हुन पुगे।  आशिफको यो टी २० आईमा दोस्रो अर्धशतक हो। आशिफले ३१ बलमा ६ चौका र १ छक्का हान्दै अर्धशतक पूरा गरे। 

दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा नटआउट रहे। 

तेस्रो विकेटका शेख र ऐरीले ७० रनको साझेदारी गरेपछि नेपाल सहज जिततर्फ उन्मुख भएको थियो। 

ओपनर कुशल भुर्तेल १ रनमा पवेलियन फर्के। कुशल पवनदिप सिहंको बलमा विरनदिप सिंहको हातबाट क्याच आउट भए। 

दिपेन्द्र सिंह ऐरि २१ रन थप्दै पवेलियन फर्के। रोहित पौडेल १२ रन बनाउँदा पवनदिपको बलमा एलबीडब्लु धरापमा परे। 

मलेसियाका लागि पवनदिप सिंहले २ तथा सहिद अजिज र मुहम्मद अमिरले समान एक विकेट लिए। 

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट झारे। अविनास बोहोरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरिले समान एक विकेट झारे। सन्दीपले आफ्नो स्पेलमा २७ रन खर्चे। ऐरिले ४ ओभरमा १४ रन खर्चेर एक विकेट लिए। करण केसीले ३ ओभरमा मात्र १६ रन खर्चेर २ विकेट झारे। 

नेपालका तिव्र गतिका बलर करण केसीले पहिलो ओभरको पहिलो बलमा नै मलेसियाका ओपनर विरनदिप सिंहलाई शुन्य रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए। 

दोस्रो विकेटका लागि जुवैदी जुल्कीफ्ली र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गरे। जुवैदी ३२ रनमा कुशल मल्लको बलमा बोल्डआउट भए। उनले १५ बलमा ३ चौका र २ छक्का हाने। 

२४ रनको योगदान दिएका कप्तान फैज नेपालका कप्तान सन्दीप लामिछानेको बलमा क्याच आउट भए। ३८ बलमा ३ चौका हानेका फैज १२ औँ ओभरको दोस्रो बलमा लामो सट खेल्ने धुनमा क्याच आउट भए।

सायद अजिज १४ रनमा क्याच आउट भए। अजिज दिपेन्द्र सिंह ऐरिको बलमा सन्दीपको हातबाट क्याच आउट भए। मुहम्मद आमिर १६ रन बनाउँदा अविनास बोहोराको बलमा एलबीडब्लु धरापमा परे। सर्भिन मुनियान्डी ९ रनमा पवेलियन फर्के। उनी सन्दीपको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए। 

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीमाथि १५ रनको रोमाञ्चक जित निकालेको थियो। सिरिज अन्तर्गतको चौथो खेलमा नेपालले बिहीबार पीएनजीसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .