नेपाल अंकित ७७ नम्बरको जर्सीमा रहेका एक युवा देब्रे हातमा बल लिएर अघि बढ्दैछन्। दाहिने हात नभएका उनले छोटो दौडिँदै बल फाले। त्यही बलमा ब्याटर बोल्ड भए।
ती बलरले नेपाली राष्ट्रिय ध्वजा रङयुक्त रातो र निलो रङको जर्सी लगाएका छन्। जर्सीको अगाडि नेपाल र पछाडि लेखिएको छ– आरपी खरेल।
५ वर्षको हुँदा धान काट्ने मेसिनमा परेर एउटा हात गुमाएका खरेलले बोल्ड गरेसँगै अरु खेलाडीसँग खुसी साटेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।
धेरैले उप्रेरित गर्ने भिडियोका रुपमा उक्त क्लिपलाई सेयर गरिरहेका छन्।
आरपी खरेल शारीरिक अशक्तता भएकाहरुको नेपाली क्रिकेट टोलीका कप्तान हुन्। नेपाल, श्रीलंका, भारत र आयोजक बंगलादेश सम्मिलित शारीरिक अशक्तता भएकाबीचको क्रिकेट शृंखला अहिले चलिरहेको छ।
उक्त शृंखलाका क्रममा श्रीलंकाविरुद्ध खरेलले लिएको विकेटको भिडिओले सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेको छ।
‘श्रीलंकन ब्याटर ६३ रनमा आक्रामक खेलिरहेका थिए। उनलाई आउट गर्न जरुरी भइसकेको थियो,’ खरेलले बंगलादेशबाट नेपालखबरसँग भने, ‘कप्तान भएकाले ममाथि जिम्मेवारी र दबाब थियो। मैले उनलाई आउट पार्दै जिम्मेवारी पूरा गरेको हुँ। त्यसले श्रीलंकाको रन रोक्न सफल भयो।’
भिडियो भाइरल भएको देखेपछि आरपी त्यसले आफूहरुको क्रिकेटलाई चिनाउन सहयोग गरेको मान्छन्।
‘पहिले धेरैले हाम्रो कस्तो टिम हो, कसरी खेल्छ? हामी पनि क्रिकेट खेल्न सक्छौं र? आदि धेरै जिज्ञासा राख्नुहुन्थ्यो,’ खरेल भन्छन्, ‘भिडिओ हेरेपछि धेरैले बुझ्नुभएको होला। भिडिओमा राम्रै प्रतिक्रिया आएका छन्। अगाडि बढ्न शुभकामना र हौसला आइरहेका छन्।’
नवलपरासीका खरेलको ५ वर्षमै धान काट्ने मेसिनले दाहिने हात काटिएको थियो। त्यसबेला समाजमा अपांगता भएकालाई हेयभावले हेरिन्थ्यो। काकाहरूको सहयोगमा खरेल जोरपाटीस्थित एसओएस बालग्राम पुगे।
जहाँ टोलकै दाइहरू क्रिकेट खेलिरहेका हुन्थे। सुरुमा दाइहरुले उनलाई बल टिप्न लगाउँथे। पछि बलिङ गर्न दिन थाले। त्यसरी नै क्रिकेटप्रति उनको रुचि बढ्दै गयो।
दाइहरुसँगको संगतले खरेललाई क्रिकेटप्रति लगाव बढ्दै गयो। त्यसपछि अपांगता भएकाको पनि क्रिकेट प्रतियोगिता हुन्छ भन्ने थाहा पाए।
त्यसपछि उनले आफूसँगै क्रिकेटमा रुचि भएकालाई भेला गर्न थाले। धेरैसँग सम्पर्क बढाए। त्यहीबेला भारतको राँचीमा शारीरिक अशक्तता भएकाहरुको सीसीएल कप क्रिकेट प्रतियोगिता हुने भयो। नेपाललाई पनि निम्तो आएपछि सहभागिताका लागि खरेल जोडतोडले लागे।
‘खेलाडी खोज्नु एकदमै जटिल थियो। सम्पर्कमा भएका विभिन्न जिल्लाका साथीहरुलाई खबर गर्दै १०–१२ दिनको अभ्यास गरेर टोली बनाएका थियौं,’ उनले सुनाए।
डीएभी र सेन्ट जेभियर्स स्कुलले उनीहरुलाई अभ्यास गर्न मैदान उपलब्ध गराउने भए। डीएभी स्कुलका क्रिकेट प्रशिक्षक पुर्नेन्द्र घोषले प्रशिक्षकका रुपमा साथ दिने भएपछि टोलीले पहिलोपटक भारतमा गएर अभ्यास खेल खेलेको थियो।
त्यसबेला नेपाल क्रिकेट संघ(क्यान) ले ३ सेट क्रिकेट किट सहयोग गर्यो। त्यसबाहेक उनीहरुलाई अहिलेसम्म सरकारी निकायबाट कुनै सहयोग भएको छैन।
‘सरकारले हामीलाई कुनै प्राथमिकता दिएकै छैन। हामी खेल्छौँ भन्दा अचम्म मान्छन्,’ उनले भने, ‘सबैकुरा छाडेर यसमै लागौँ, परिवार पाल्ने पीर लाग्छ। नलागौँ नसा यस्तो छ कि खेल छोड्दै सकिँदैन।’
बंगलादेशमा तीनवटा खेल खेल्दा नेपालले सबैमा पराजय भोग्यो। बाँकी टोलीहरू टेस्ट राष्ट्र हुन्। उनीहरुसामु नेपाली टोली नयाँ भएकाले पराजय भोग्नुपरेको उनी बताउँछन्।
‘पहिलो त हाम्रो टोली एकदमै नयाँ छ। क्रिकेटको ज्ञान, सीप भएका खेलाडी कम छन्। मैदानदेखि खेल सामाग्रीको अभाव छ,’ उनले भने, ‘अरु टेस्ट राष्ट्र हुन्। उनीहरु धेरै पहिलेदेखि खेल्दै आएका छन्। सरकारको पनि राम्रो सपोर्ट छ। हाम्रोमा खेल सामाग्री, राम्रो कोच र मैदानकै लागि संघर्ष गरिरहनु परेको छ।’
अपांगता भएकाहरुको क्रिकेटलाई यहाँसम्म ल्याए पनि कसैको साथ नहुँदा उनी चिन्तित देखिन्छन्। तर आगामी पुस्ताका लागि बाटो खुलाउन सकेकोमा उनलाई सन्तोष मिलेको छ।
‘क्रिकेट जान्दै नजान्नेलाई मैदानमा मात्रै उभ्याएर टोली यहाँसम्म ल्यायौँ,’ खरेल भन्छन्, ‘हामीले जसोतसो धानेर बाटो बनाइदिएका छौं। सायद आउने पुस्ताका लागि सजिलो हुनेछ।’
केही समयपछि दुबईमा अपांगता भएकाहरुको अर्को प्रतियोगिता हुँदैछ। सबैले सहयोग गरे नेपालका तर्फबाट राम्रो गर्न सकिने उनी बताउँछन्। क्यानले पनि अपांगता भएकाहरुको क्रिकेटका लागि छुट्टै युनिट बनाउनुपर्ने उनको तर्क छ।
‘पहिलेको र अहिलेको टोलीमा फरक छ। धेरै सुध्रिएको छ। अलि साथ सहयोग पाउने हो भने हामीले ठूला देशलाई पनि हराउन सक्छौँ,’ खरेल भन्छन्, ‘क्यानले छुट्टै यूनिक बनाएर राम्रा खेलाडी खोज्दै राम्रो प्रशिक्षक ल्याउन सके अझै राम्रो गर्न सकिन्थ्यो।’
Shares
प्रतिक्रिया