नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले १० खेलाडीले क्याम्प छाडेको प्रकरणमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेखेका छन्।
रोहिन चन्दसहितका १० सिनियर खेलाडीसँग पछिल्लो समय उत्पन्न विवादबारे अलमुताईरीले एन्फालाई पत्र लेखेका हुन्।
एन्फा महासचिव इन्द्रमान तुलाधरलाई लेखिएको पत्रमा अलमुताईरीले क्याम्पबाट बाहिरिएका खेलाडीलाई कारवाही नगर्न भनेका छन्।
उनले क्याम्प छाडेका खेलाडीहरुले चित्त दुखाउने काम गरे पनि आफू नेपाली टिमको प्रगतिका लागि दत्तचित्त लागिरहेको पनि उल्लेख गरेका छन्।
'अहिले असहज परिस्थिति बनेको छ। केही खेलाडीको व्यवहारका कारण मलाई दु:ख लागेको छ', उनले भनेका छन्, 'मेरो पहिलो प्राथमिकता नै नेपाली राष्ट्रिय फुटबल हो। मेरो सदैव चासो यही नै हो। नेपाली राष्ट्रिय फुटबल मेरो मनमा, हृदयमा छ। मलाई पूरा विश्वास छ, अहिलेको यो अवस्थाबाट निस्किएर नेपाली फुटबलले अझै प्रगति गर्नेछ।'
उनीहरुले अल्मुताइरीसँग यही अवस्थामा खेल्न नसकिने अडान लिएका थिए। यस्तोमा अल्मुताईरीले सिनियर १० खेलाडीको विकल्पमा १७ जना नयाँ खेलाडीलाई अवसर दिएर क्याम्पमा बन्द प्रशिक्षण चलाइरहेका छन्।
क्याम्प छाडेका खेलाडीहरुले भने अल्मुताइरीले आफूहरुमाथि अपमानपूर्ण व्यवहार गरेको, टिमबाट निस्किएर जान भनेको लगायत आरोप लगाएका थिए।
सुरुमा रोहितलाई क्याम्प छाडेर जानु भनेपछि अन्य खेलाडीले पनि विद्रोह गरेका थिए। डाकिएकामध्ये विके कुथुले पनि विद्रोह गरेका खेलाडीलाई साथ दिँदै क्याम्पमा गएका छैनन्।
Shares
प्रतिक्रिया