नेपाल भ्रमणमा रहेको युगान्डाको महिला क्रिकेट टोलीले पाँच खेलको टि–२० आई सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपाल पाहुना टोलीसँग १ विकेटले पराजित भएको हो।
नेपालले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको युगान्डाले १ बल अगावै जित निकालेको हो।
नेपालका लागि कविता कुँवर, सवनम शर्माले समान २ विकेट झारे। सीता राना मगर र रुविना क्षत्रीले एक एक विकेट लिए।
युगान्डाका लागि ब्याटर रिता मुसामालीले बनाएको ३० रन नै सर्वाधिक रह्यो। फ्याकलिन नजुम्बाले १९ र जनेत एम्बाजीले १६ रन थपे।
त्यसअघि युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि बिन्दु रावलले २६ र सरिता मगरले २२ रनको सर्वाधिक योगदान दिए। कप्तान रुविना क्षत्री १७ रन बनाउँदा रन आउट भइन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो।
तेस्रो खेल बिहिबार हुनेछ।
Shares
प्रतिक्रिया