नेपालले युगाण्डा महिला क्रिकेट टोलीसँगको ५ खेलको टि–२० आई सिरिज गुमाएको छ।
सिरिज अन्तर्गत लगातार तेस्रो खेलमा हार व्यहोरेसँगै नेपालले सिरिज गुमाएको हो।
युगाण्डाको महिला क्रिकेट टोलीले पाँच खेलको टि–२० आई सिरिजमा ३–० को अग्रता बनाएको छ। युगाण्डाको महिला टोलीले घरेलु टोलीमाथि ६ विकेटको फराकिलो जित निकाल्दै २ खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो।
नेपाल पहिलो खेलमा १२ रनले तथा दोस्रो खेलमा १ विकेटले पराजित भएको थियो।
घरेलु टोलीले दिएको १ सय रनको झिनो लक्ष्य युगाण्डाले १८ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
युगाण्डाकी केभिन अविनो ४२ रनमा नटआउट रहिन्। युगाण्डाका लागि जेनेट एमबाबाजीले २७ रनको योगदान दिइन्।
नेपालका लागि कविता कुँवरले २ तथा इन्दु बर्मा र रुविना क्षत्रीले एक एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको महिला क्रिकेट टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रनको झिनो योगफल तयार पारेको थियो।
ज्योति पाण्डेले बनाएको ४७ रन नै नेपालका लागि सर्वाधिक रह्यो। कप्तान रुविना क्षत्री १८ रनमा नटआउट रहिन्। सीता रानामगरले १२ रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपालले चौथो खेल भोलि शुक्रबार सोही मैदानमा खेल्नेछ।
प्रतिक्रिया