राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर टोलीका १० खेलाडीबीचको विवाद अध्ययनका लागि गठित ३ सदस्यीय समितिले बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरेको हो। एन्फाले प्रशिक्षक र खेलाडीबीचको विवाद अध्ययन गर्नका लागि सेनाका पूर्वउपरथी समेत रहेको पूर्वराष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेको समिति गठन गरेको थियो।
समितिले बुधबार प्रतिवेदन एन्फालाई बुझाएको थियो। समितिले १० दिन लगाएर २८ पृष्ठ लामो प्रतिवेदन तयार पारेको थियो।
प्रतिवेदनमा खेलाडीले क्याम्प छाडेर गएको तथ्यमा नदेखिएको जनाएको छ। मुख्य प्रशिक्षकले बारम्बार अमर्यादित भाषामा प्रशिक्षण बाहिर जान भनेपछि खेलाडी बाध्य भएको देखिएको प्रतिवेदनमा उल्लेख छ।
तर १३ गते राति सहायक प्रशिक्षक, गोलरक्षक प्रशिक्षकलगायतले राति बाहिर नजान भने पनि बाहिरिनु भने खेलाडीको गल्ती भएको उल्लेख छ।
अलमुताइरीबारे यस्तो सुझाव
प्रतिवेदनले मुख्य प्रशिक्षक अलमुताइरीले एकपक्षीय हिसाबले र चेन अफ कमान्डबाहिर रहेर काम गरेको ठहर गरेको छ।
सोही कारण समितिले एन्फालाई चेन अफ कमान्डअनुसार चल्न लगाउन निर्देशन दिन भनेको छ। त्यस्तै प्रशिक्षकले टिम व्यवस्थापनका काममा समेत हस्तक्षेप गरेको ठहर गरेको छ। उनको खेलाडी छनोट, तालिम र मूल्यांकन मात्रै भएको समितिले जनाएको छ।
समितिले मुख्य प्रशिक्षक, व्यवस्थापन र एन्फा सचिवालयलाई खेलाडीले क्याम्प छोड्नुको जिम्मेवार ठहराएको छ। मुख्य प्रशिक्षक आफ्नो स्वास्थ्य अवस्थाका कारण तनावमा रहेको देखिएको, सामाजिक सञ्जालमा जथाभावी लेख्ने र धेरै विवादित हुने कारण राष्ट्रिय टोलीमा समस्या आएको ठहर गरेको छ।
भविष्यमा त्यस्ता गल्ती नगर्न प्रशिक्षकलाई निर्देशन दिन एन्फालाई अह्राइएको छ।
साथै प्रतिवेदनमा समितिले कतारसँगको सहकार्यलाई निरन्तरता पाउने गरी एएफसी एसियन कप २०२३ क्वालिफायर्सपछि अलमुताइरीको विकल्प खोज्न पनि सुझाइएको छ।
प्रतिवेदनले टिम मेनेजर, सहायक प्रशिक्षक, गोलरक्षक प्रशिक्षक, टिम कोअर्डिनेटर र फिजियोथेरापिस्टसँगै एन्फा सचिवालयलाई पनि आवश्यक सुझाव दिएको छ।
Shares
प्रतिक्रिया