नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसहित ६ क्रिकेटरलाई भारतीय खेल सामग्री उत्पादक कम्पनी ज्याप क्रिकेटले प्रायोजन गरेको छ।
ज्याप क्रिकेटले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने, विकेटकिपर बिनोद भण्डारी, युवा क्रिकेटर भिम सार्की, देव खनाल, सुनिल धमला र आदील अन्सारीलाई १ वर्षका लागि प्रायोजन गरेको हो।
बुधबार काठमाडौंमा आयेजित एक कार्यक्रममा ज्यापका संस्थापक सीईओ भब्य भारध्वज र क्रिकेटरहरुले सम्झौता पत्रमा हस्ताक्षर गरे। प्रायोजन सम्झौता पश्चात खेलाडीहरुले ज्यापको ब्याट लगायत खेल सामग्री प्रयोग गर्नेछन्। सम्झौताका विषयमा भने केही खुलाइएको छैन।
ज्यापले यसअघि महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो।
सम्झौता कार्यक्रममा ज्याप क्रिकेटका सीईओ भारध्वजले आगामी दिनमा अन्य क्रिकेटरहरुलाई समेत प्रायोजन गर्ने बताए। नेपाली क्रिकेटले पछिल्लो समय गरेको प्रगति उत्साहजनक रहेको र नेपाली टोलीले थप उचाई लिने बताए।
त्यसैले क्रिकेटरहरुलाई विश्वस्तरीय क्रिकेट सामग्री प्रदान गर्दै खेलस्तर विकासमा सहयोग गर्न चाहेको उनले बताए।
कप्तान सन्दिप लामिछानेले ज्याप क्रिकेटको सामग्रीहरु स्तरीय रहेको बताउँदै युवा क्रिकेटरहरुलाई पनि प्रायोजन गरेकोमा धन्यवाद व्यक्त गरे।
Shares
प्रतिक्रिया