अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोली शनिबार अमेरिका प्रस्थान गरेको छ।
शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर शृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार बिदाइ गरेको हो। टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतको टोलीले बिदाइ गरेको हो। भ्रमण गर्न लागेको टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सफलताको शुभकामना दिए।
बिदाइ कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे। धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि शृंखला निकै महत्वपूर्ण रहेको उनले बताए।
कप्तान लामिछानेले ब्याटिङ पक्षमा सुधार भएको र अमेरिका भ्रमणमा ब्याटिङ पक्षले जिताउनेमा आफू आशावादी रहेको बताए।
पहिलोपटक शृंखलाका लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको हो। नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ। शृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिकासमेत छ।
नेपाली टोलीलाई सम्हालेका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोली तयारी राम्रो भएको सुखद नतिजा निकाल्नमा आफू आशावादी रहेको प्रतिक्रिया दिए।
विश्वकप लिग–२ शृंखला अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग जुन ९ तारिखमा खेल्नेछ। त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ। यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्नेछ।
Shares
प्रतिक्रिया