नेकोस काठमाडौ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौंका पुरुषोत्तम सिलवालले उचालेका छन्।
आइतबार सम्पन्न प्रतियोगितामा पुरुषोत्तमले ७१ जना प्रतिस्पर्धीलाई उछिन्दै विजेता भएका हुन्।
नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा भएको प्रतियोगितामा काठमाडौंका कुशल बेलबासे र तिलिङ्टार माविका पूर्णिमा गुरुङ समान ६ अंकका साथ दोस्रो र तेस्रो भए।
शतप्रतिशत नतिजा हात पारेका पुरुषोत्तमले ७ खेलबाट ७ अंक बनाउँदै ७ हजार रुपैयाँ प्राप्त गरे। दोस्रोले ५ तथा तेस्रो हुनेले ४ हजार रुपैयाँ पाए।
बर्दियाका निशान्त श्रेष्ठ ५ दशमलव ५ अंकका साथ चौथो हुँदै ३ हजार तथा ५ अंक बनाएका कपिल घिमिरे पाँचौैँ हुँदै २ हजार रुपैयाँ पाए।
महिलातर्फ काठमाडौंकी मार्सल तामाङ ७ खेलबाट ५ अंक बनाउँदै उत्कृष्ट खेलाडी घोषित भइन्। झापाकी पुनम प्रसाईं ४ अंकका साथ दोस्रो, युनिशा सुवेदी तेस्रो, शिवानी रिजाल चौथो तथा सबनम रिजाल पाँचौँ स्थानमा रहन सफल भए।
Shares
प्रतिक्रिया