आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबार राति भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ।
अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा भएको खेलमा पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २११ रन बनाएको थियो।
ओमानका लागि जीसान मक्सुदले १२६ बल खेल्दै अविजित १०४ रन बनाए। नेपालका करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट हात पारे। सोमपाल कामीको नाममा १ विकेट रह्यो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १९८ रन मात्र बनायो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन बनाए भने देव खनालले ३४ रनको पाली खेले।
ओमानका जीसान मक्सुद र खावर अलीले समान ३/३ विकेट लिए भने बिलाल खानले २ विकेट हात पारे।
यससँगै नेपाल लिगमा १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा यथावत छ। नेपालले शनिबार अमेरिकासँग खेल्नेछ।
Shares
प्रतिक्रिया