एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग ७–० गोलको लज्जापद हार व्यहोरेको छ। समूहको सबै खेल हार्ने क्रममा मंगलबार इन्डोनेसियासँग लज्जापद हारको सामना गरेको हो।
कुवेतस्थित जाबिर अल अहमद मैदानमा नेपाली टोली पहिलो हाफमै २–० ले पछि परेको थियो। दोस्रो हाफमा नेपालले थप ५ गोल खाएको थियो।
खेलको ११ औं मिनेटमा नै गोलरक्षक सुमन अर्यालले विपक्षीमाथि खराब ट्याकल गरेका कारण पहिलो तथा ३३ अौं मिनेटमा दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो।
यससँगै नेपाल १० खेलाडीमा सीमित भएको थियो। इन्डोनेसिसयाका लागि विटान सुलेमानले २, डिमास ड्राजाड, फेचरुदिन आर्यान्टो, सादिल रामदानी र इल्कान बागोट, मार्सिलेनो फर्डिनान्डले समान १ गोल गरेका थिए।
छनोटका ३ खेलमा १३ गोल खाएको नेपालका लागि एक मात्र गोल दर्शन गुरुङले कुवेतविरुद्ध गरेका थिए।
पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित नेपालले कुवेतसँगको खेल ४–१ ले गुमाएको थियो।
इन्डोनेसियाविरुद्धको खेलमा पुजन उपकोटीले टोलीको कप्तानी सम्हालेका थिए। छनोटका लागि नवयुग श्रेष्ठ कप्तान नियुक्त भएका थिए। शिवकुमार गुरुङ र नीरकुमार राईले सोही खेलमार्फत डेब्यू गरेका छन्।
शिव र नीर दुवैले पहिलो रोजाइमै खेलको सुरुवात गरेका थिए।
समूह एको समाप्तिमा ९ अंकका साथ जोर्डन शीर्षस्थानमा, ६ अंकसहित इन्डोनेसिया दोस्रो र कुवेत ३ अंकसहित तेस्रो स्थानमा छ। नेपालले अंकविहीन हुँदै छनोटको यात्रा अन्त्य गरेको छ।
Shares
प्रतिक्रिया