अलराउण्डर करण केसीले अमेरिकामा सम्पन्न आईसीसी लिग–२ अन्तर्गत ओमान सम्मिलित त्रिकोणात्मक एक दिवसीय सिरिजको प्लेयर अफ द सिरिज अवार्ड हात पारेका छन्।
अमेरिका सिरिजमा कीर्तिमानी प्रदर्शन गरेका करण एक दिवसीय र टी–२० आई क्रिकेटका दुवै फर्म्याटमा ५ विकेट झार्ने पहिलो नेपाली खेलाडी हुन्।
अमेरिका भ्रमणमा रहँदा करणले १३ विकेट झारे। करणले ओमानविरुद्धको दुवै खेलमा समान ५ विकेट झारेका थिए।
अमेरिकासँगको खेलमा भने ३ विकेट लिएका थिए। अमेरिकासँगको खेलमा ९ ओभर बलिङ गरेका करणले ६७ रन खर्चेर ३ विकेट लिएका थिए।
अमेरिकासँग टाइ भएको खेलमा भने करणले ९ ओभरमा १ मेडन राख्दै ४२ रन खर्चिए पनि विकेट लिन भने सकेका थिएनन्।
ओमानसँगको खेलमा ९ ओभरमा मात्र ३३ रन दिएर ५ विकेट लिए। अर्को खेलमा भने १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए।
अमेरिकासँगको पहिलो खेलमा विकेट विहिन करणले त्यसपछिका खेलमा लगातार विकेट लिएका थिए।
यसअघि घरेलु मैदानमा भएको टि–२० आई सिरिज अन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा ५ विकेट झारेका थिए।
अमेरिका भ्रमणमा रहँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १ खेलमा जित, एकमा बराबरी र दुई खेलमा हार भोगेको थियो।
Shares
प्रतिक्रिया