अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएसँगै बन्द प्रशिक्षणबाट निकालिएका १० खेलाडी राष्ट्रिय टोलीमा फर्किने भएका छन्।
नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बसेको पहिलो बैठकले खेलाडीलाई राष्ट्रिय टोलीमा फर्कन बाटो खुला गरेको हो।
खेलाडी प्रशिक्षकबीचको विवादपछि गठित कार्यदलले कार्यदलले बुझाएको प्रतिवेदनका सुझाव अनुसार खेलाडीलाई राष्ट्रिय टोलीमा सहभागी गराउने निर्णय गरेको हो।
खेलाडीको सुविधाका बारेमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवाद हुँदा सिनियर टोलीबाट उपकप्तान रोहित चन्दसँगै १० खेलाडीले क्याम्प छाड्नु परेको थियो। खेलाडीकै पक्ष लिँदा उनी पनि टोलीबाट बाहिरिएका थिए।
प्रशिक्षकसँगको विषयमा भने अलमुताइरी, कतार फुटबल संघसँग समन्वय गरि कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय पनि पहिलो बैठकले गर्यो।
यद्यपी अलमुताइरीले भने आफू नेपाल नफर्किने संकेत गरिसकेका छन्। सामाजिक सञ्जालमा स्टोरी लेख्दै नेपाल नआउने संकेत गरेका हुन्।
यद्यपी उनले त्यो स्टोरी केही समयमा नै हटाएका थिए। निर्वाचन अघि नै कर्मा छिरिङ पुनः निर्वाचित भए अलमुताइरी स्वदेश फर्कने र नेम्वाङ आए उनी फर्किँदैनन् भन्ने कुरा फुटबल वृत्तमा चलिसकेको थियो।
पहिलो बैठकले नै अध्यक्ष नेम्वाङको प्रस्तावमा महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नवीन पाण्डेलाई नियुक्ती गरेको छ।
Shares
प्रतिक्रिया