नेपाल क्रिकेट संघ (क्यान) ले भारतको सेभेन थ्री स्पोर्टस् कम्पनीसँग गरेको सम्झौताका विषयमा प्रतिनिधि सभामा प्रश्न उठेको छ।
नेकपा एमालेका खेलकुद विभाग प्रमुख तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आइतबार प्रतिनिधि सभामा बोल्दै क्यानले भारतीय कम्पनीसँग गरेको सम्झौता राष्ट्रघाती रहेको भन्दै सम्झौता च्यातिनुपर्ने बताए।
प्रतिनिधि सभामा बोल्दै बास्कोटाले नेपाल सरकार र खेलकूद मन्त्रालयले नेपालको सबै खेल क्षेत्र भारतको सेभेन थ्री स्पोर्टस् प्रालिलाई बेचेको आरोप लगाए।
बास्कोटाले भने, ‘नेपालको क्रिकेट क्षेत्र ८ वर्षका लागि बन्ध्याकरण गरिएको छ। खेलाडीहरु लिगमा हायर हुन सक्छन्, तर यहाँ सबै खेल क्षेत्रमाथिको नियन्त्रण एउटा भारतीय कम्पनीलाई दिइएको छ।’
प्रतिपक्षी दलका सांसद बास्कोटाले संसदमा भने, ‘क्यानलाई नेपाल सरकारले अनुदान दिन्छ, जसलाई ८ वर्षका लागि निजी कम्पनीलाई दिइएको छ, त्यो पनि सार्वजनिक खरिद ऐन मिचेर बिनाप्रतिस्पर्धा दिइएको छ। यो खेदजन्य र गम्भीर आपत्तिको विषय छ।’
यो सम्झौता लागु भएमा नेपालमा यसअघि हुँदै आएको एभरेष्ट प्रिमियर लिग (इपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डिपीएल) ले कुनै काम गर्न नसक्ने बास्कोटाको तर्क छ ।
बास्कोटाले संसदमा भने, ‘यस्तो अवस्थामा खेल क्षेत्रलाई लैजाने हो भने क्यान, खेलकुद मन्त्रालय, मन्त्री र क्यानको कुनै काम नभएको र सरकारले अनुदान दिनुपर्ने काम पनि नभएको बताए। उनले भने, ‘यो खेल क्षेत्रको दुःखद कुरा हो।
के छ सम्झौतामा ?
एमाले सांसद बास्कोटाले उठाएको प्रश्न क्यान र भारतको सेभेन ३ स्पोर्टस् प्रालि (एस थ्री) भएको सम्झौताको विषयमा हो । नेपालको टी–२० क्रिकेट लिग र जुनियर क्रिकेट च्याम्पियनसीपको विकासका लागि भन्दै गरिएको यो सम्झौता गत जनवरी २८ देखि नै कार्यान्वयन हुने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा यो सम्झौता भारतको कानून अनुसार लागू हुने, नेपाल क्रिकेट संघको लोगो र वौद्धिक सम्पत्तिमा भारतीय कम्पनीको अधिकार रहने, विवाद उत्पन्न भएकामा मध्यस्थतासम्बन्धी काम पनि भारतकै नियम कानून अनुसार हुने राष्ट्रघाती बुँदाहरु समावेश भएको पाइएकाले आफूले संसदमा कुरा उठाएको बास्कोटाले नेपालखबरलाई बताए ।
सम्झौताको दफा २१ अनुसार यो सम्झौता भारतीय कानुनको परिधिभित्र रहेर कार्यान्वन हुने छ । सम्झौता वा यससँग सम्बन्धित सबै विवाद एवं मतभेदहरू पनि भारतकै नियम कानून अनुसार हुने भनिएको छ । नेपाली पक्षसँग भएको सम्झौतामा यसरी भारतीय कानून अनुसार काम हुने भन्नु राष्ट्रघाती प्रावधान भएको बास्कोटाको भनाइ छ ।
सम्झौतामा मध्यस्थता भारतीय कानून अनुसार हुने मात्रै भनिएको छैन, मध्यस्थतासम्बन्धी काम कारवाही भारतको नयाँ दिल्लीमा हुने बताएको छ।
सम्झौतामा भनिएको छ, ‘पक्षहरु यसमा पनि सहमत छन् कि बौद्धिक सम्पत्ति, ब्रान्ड, व्यापारिक नाम, लोगो, काम, नेपाल टी२० र जेसीसी को सहकार्यबाट तयार गरिने कुनै पनि प्रकाशनका काम एसथ्री (भारतीय) कम्पनीमा निहीत रहनेछ।’
क्यानले थ्री स्पोर्टससँग सम्झौतापछि क्यानले एउटा देशमा एउटा मात्र फ्रेन्चाइज लिग हुने दाबीसहित क्यानले नेपाल टी–२० लिग आयोजना गर्ने घोषणा गरेको थियो।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भने, ‘हामी कसैको पछि लाग्दैनौँ, हाम्रो लिग गर्छौँ’, उनले अन्त्यमा भने, ‘हाम्रो मोडालिटी स्वीकार गरेर आए जो कोहीलाई बाटो खुला छ। अहिलेसम्म जसरी ईपीएल भइरहेको थियो, त्यसरी अब हुँदैन।’
क्यानको उक्त घोषणाले आफूहरु स्तब्ध भएको भन्दै ईपीएल आयोजना गर्ने वातावरण बनाइदिन आग्रह गरेको हो।
Shares
प्रतिक्रिया