टी–२० लिग आयोजनाका लागि भारतको सेभेन थ्री स्पोर्टस् कम्पनीसँग गरेको सम्झौताबारे संसदमा प्रश्न उठेपछि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले देशको स्वाभिमानमा आँच आउने काम नगरेको स्पष्टीकरण दिएका छन्।
आइतबारको प्रतिनिधि सभामा नेकपा एमालेका खेलकुद विभाग प्रमुख एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले क्यानले भारतीय कम्पनीसँग गरेको सम्झौताको विषयमा प्रश्न उठाएका थिए। सम्झौताका बुँदाहरु राष्ट्रघाती भएको र नेपाली क्रिकेटलाई ८ वर्षे बन्ध्याकरण गरिएको बास्कोटाको टिप्पणी थियो।
बास्कोटाले संसदमा बोलेको भोलिपल्ट सोमबार क्यानका अध्यक्ष चन्दले त्यसको जवाफ फर्काएका छन्। चन्दले जिम्मेवार राजनीतिज्ञले कुरा बुझेर मात्रै बोल्नुपर्ने बताए।
‘संसदमा बोल्नुअघि क्यानको बारेमा मिडियामा आएको समाचार हेरिदिएको भए हुन्थ्यो’, चन्दले भने, ‘एउटा व्यक्ति र निजी संस्थाको पक्षपोषण हुने गरी बोल्न हुँदैनथ्यो। क्यानको जिम्मेवार व्यक्तिसँग सोध्नुपर्ने थियो, जुन कुरा उहाँले गर्नुभएन, त्यसप्रति म खेद व्यक्त गर्छु।’
सोमबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष चन्दले भने, ‘उहाँको कुनै लेनदेन होला, कुन हिसाबले एउटा व्यक्तिको पक्षमा उहाँले बोल्नुभयो। कुनै एउटा राजनीतिक दल वा खेल निकायलाई उजुरी गरेमा क्यानसँग सोध्नुपर्ने थियो।’
क्यानले भारतिय कम्पनीसँग ५३ पेजको मुख्य सम्झौता र ५ पेजको सहायक सम्झौता गरेको बताउँदै त्यसमा केही लाइनलाई मात्र लिएर बोल्नभन्दा पूरै सम्झौता पढ्न चन्दले आग्रह गरे।
भारतीय कम्पनीसँग क्यानले सम्झौता गरेर नेपाली क्रिकेटलाई बन्धक बनाइएको आरोपको खण्डन गर्दै चन्दले टि–२० लिग बाहेक अन्य प्रतियोगिताको अधिकार क्यानलाई रहने दाबी गरे। २८ दिन हुने नेपाल टि–२० लिगमा मात्र भारतीय कम्पनीको सम्झौता लागु हुने हो। त्यसको अघिपछि हुने प्रतियोगिताको सबै अधिकार क्यानको हो। त्यसमा सेभेन थ्री स्पोर्टस् कम्पनीको अधिकार छैन र रहन्न।
चन्दले बास्कोटामाथि प्रतिप्रश्न गरे, ‘सम्झौता भएको डेढ वर्षमा क्यानले थुप्रै प्रतियोगिता गर्यो। त्यसमा भारतीय कम्पनीले केही दाबा गरेको छ?’
पछिल्लो समय नेपाल टी२० को चर्चा धेरै बढी भइरहेको चन्दले उल्लेख गरे। उनका अनुसार नेपालमा लिग गर्नका लागि अन्तिम सम्झौता २०२१ को जनवरीको अन्तिममा भएको थियो।
उनले भने, ‘झण्डै डेढ वर्षअघि गरेको सम्झौताका विषयमा हामीले कुनै कुरा लुकाएका छैनौँ। नेपाली मिडियालाई खुलेर यसबारे जानकारी दिएका छौँ। निर्वाचनअघि दुईपटक साधारण सभाबाट पारित गरेर सम्झौता भएको विषय हो।’
उनले अगाडि थपे, ‘कुनै एउटा लगानीकर्ताले करोडौँ रुपैयाँ नेपालमा भित्र्याउँदैछ भने उसले लगानीको सुरक्षा खोजेकाले सम्झौता गरेको हो। विदेशी कम्पनीले लगानी गर्दा सुरक्षा त खोज्छ त्यसकै लागि सेभ साइडको रुपमा क्रिकेट संघ र व्यवसायिक पार्टनरका बिच कुनै विवाद भयो भने मध्यस्थकर्ता कोर्ट दिल्लीमा राखेको हो।’
त्यसअघि सिंगापुरमा राख्ने भनेको, तर आफूहरुले नै नमानेको बताउँदै चन्दले भने,‘ किनकी एउटा मुद्दा (विवाद) को सुनुवाइ गरेको ५५ हजार डलर लिने रे। दिल्लीमा ५० हजार भारतीय रुपैयाँ पर्छ।’
सांसद बास्कोटाले क्रिकेट राम्रोसँग नबुझेको संकेत गर्दै चन्दले भने, ‘क्रिकेट राम्रोसँग बुझ्नेले यो सम्झौतालाई नराम्रो भनेको छैन। अहिले आएर भारतीय कानुनबमोजिम भएको भनेर विरोध भैरहेको छ, त्यो गलत कुरा हो। क्रिकेटको व्यवस्थापनमा अब्बल विज्ञहरु भारतमा छन्। सल्लाहकार, क्रिकेट कोचिङ, बाहिरबाट ल्याउँदा हुने तर राम्रो विदेशी विज्ञले बनाएको नीति नेपाली क्रिकेटका लागि राम्रो हुन्छ भने किन प्रयोग नगर्ने?’
क्यानको काम हेरेर नै आइसीसीले क्यानमाथि लगाएको प्रतिबन्ध पूर्ण रुपमा फुकुवा गरेको बताउँदै चन्द भन्छन्,‘आइसीसीकै प्रतिनिधि नेपालमा आएर नेपाली क्रिकेट सही बाटोमा छ भनेर भनेपछि यो कसरी गलत भयो?’
‘एउटा निजी कम्पनीका लागि क्यान सती जान सक्दैन’
नेपाल टी–२० लिग घोषणापछि नेपालमा यसअघि हुँदै आएका तीन फ्रेन्चाइज लिग (धनगढी प्रिमियर लिग (डीपीएल), एभरेष्ट प्रिमियर लिग (इपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) को भविष्य लगभग बन्द भैसकेको छ।
क्यानले एउटा मात्र आधिकारिक लिग हुने भन्दै नेपाल टि–२० लिग घोषणापछि अन्य लीगलाई आफूहरुले दिएको फम्र्याटमा लिग गराउन सक्ने बताएको थियो।
जसको विरोधमा इपीएल र इपीएलका ६ फ्रेन्चाइज टोलीले संयुक्त पत्रकार सम्मेलन गर्दै लिग आयोजना गर्न पाउनुपर्ने, अन्यथा आफूहरुले क्रिकेटलाई गर्दै आएको प्रायोजन समेत नगर्ने चेतावनी दिएका थिए।
चन्दले इपीएल आयोजकलाई लक्षित गर्दै एउटा निजी कम्पनीका लागि क्यान सती जान नसक्ने बताए। क्यान आफैंले लिग आयोजना गरेमा खेलाडीले आर्थिक रुपमा लाभ लिन सक्छन् भनेर अगाडि बढेको उनले बताए।
अध्यक्ष चन्दले भने, ‘खेलाडीलाई २५ हजारमा जसरी शोषण भैरहेको थियो, अब त्यसरी हुँदैन। एउटा निजी कम्पनीले २० हजार डलरमा वर्षभरि नेपाली क्रिकेटलाई ब्ल्याकमेल गरेको थियो। एउटा निजी कम्पनीले नेपाली क्रिकेटको नाममा करोडौं, कमाउने क्यानले लिग गर्दा विरोध हुने ?’
चन्दले अगाडि भने, ‘लामो समय क्रिकेटमा दलाली गरेर खेलाडीको शोषण गरेर जुनखालको कमाइ भैरहेको थियो तिनीहरुको रोजीरोटी बन्द हुने वातावरण बनेपछि हारगुहार गरेर राजनीतिका नाममा क्रिकेटलाई गलत गर्ने प्रयास भैरहेको छ, यो गलत हो। एक वर्षका लागि आइसीसीले कुनै फ्रेन्चाइज लिगलाई अनुमति दिन्छ, लगानीकर्ताले १० वर्षको सम्झौता गर्छन्, त्यसको जिम्मा क्यानले लिन्छ।’
खेलाडी र नेपाली क्रिकेटको भविष्य र क्रिकेट संघलाई बलियो बनाउने पक्षमा क्यान भएकाले कुनै व्यक्तिका लागि मात्रै नसोच्ने चन्दले बताए।
Shares
प्रतिक्रिया