पछिल्लो समय खेलाडी पलायन बढ्दो छ। देशका लागि खेल्दै आएका खेलाडी पलायन रोक्न खेल संघदेखि सरकारसँग पनि ठोस योजना छैन।
राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाएका खेलाडीसमेत विदेश पलायन भइरहेका छन्। आफ्नै मिहिनेत र ऋणधन गरेर देशका लागि खेल्ने खेलाडी अन्तिममा बेरोजगार भएर विदेशिनुपर्ने बाध्यता रोकिएको छैन।
खेलाडी पलायन भइरहेको यो दृश्यबीच देशका ठूलादेखि साना दलसम्मले खेलकुद विभागलाई छोएको देखिँदैन। यस्तै खेलकुद विभागमध्ये एमालेको नेतृत्व गरिरहेका छन् लीलबहादुर थापाले।
खेलाडीको पीडादायी पलायन रोक्न प्रोत्साहन र सहयोग गर्न खेल नीतिमा नै फेर्नुपर्ने आवश्यकता देखेका छन् थापाले।
‘राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा नाम कमाएका खेलाडीलाई आर्थिक, भौतिक र नैतिक रुपमा बलियो बनाउने एजेन्डा सबैको हुनुपर्छ, यसमा दल विभाजित हुनु हुँदैन’, उनले नेपालखबरसँग भने, ‘खेलाडी सबैका साझा सम्पत्ति हुनुपर्छ। तर राजनीतिक, आर्थिक र नैतिकरुपमा हामीले उनीहरुलाई खेलेरै देशमा सम्मानका साथ बाँच्ने वातावरण दिनुपर्छ।’
सबै वर्गसँग जोडिनुपर्ने भाव खेलाडीमा जगाउनुपर्ने उनको तर्क छ। ‘साँघुरो घेरामा रहेर खेलाडी हुन सकिँदैन’, उनले भने, ‘उनीहरुलाई राजनीति दल र सीमित सम्प्रदायभन्दा माथि उठेर मुलुक र जनताका आर्थिक अवस्थाबारे सोच्न सक्ने बनाउनुपर्छ। उनीहरुमा उच्चस्तरको र फराकिलो भावना आवश्यक हुन्छ।’
......
उनको विचारमा सफलता चुमेर चर्चा कमाउने खेलाडी उत्पादनमा पार्टीका खेलकुद विभागहरु पनि लाग्नुपर्ने आवश्यकता छ।
‘अहिले खेलाडीको मिहिनेतको राम्रो परिणाम आउन सकेको छैन’, उनले भने, ‘यसमा खेलाडी र संघलाई मात्रै दोष दिएर हुँदैन। हाम्रो नीतिमै खोट छ।’
थापाले खेलाडी र संघलाई आवश्यक भौतिक सामाग्री नै दिन नसकेको स्वीकारे। ‘अनि कसरी उनीहरुले नतिजा दिन सकुन्?’, उनी प्रश्न गर्छन्, ‘यसको प्रभाव समग्र राष्ट्रिय विकास, खेलाडी र अरु युवाहरुमा पनि परेको छ।’
विश्वका अन्य देशमा प्रधानमन्त्री र नेतालाई नचिने पनि खेलाडीलाई सबैले चिन्ने गरेको उनले बताए।
‘ठूला ठूला युद्ध पनि खेलाडीको सम्बन्धले मित्रतामा पुगेका छन्’, उनले भने, ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रर्दशन गर्ने खेलाडीलाई रोजगारी दिने, खेल उद्योग स्थापना हुनु आवश्यक छ।’
खेल पत्रकारलाई व्यवस्थित बनाउने र राष्ट्रिय अन्तराििष्ट्रय सम्बन्ध सुधार्ने प्रयासमा एमालेको खेलकुद विभाग काममा जुटेको थापाले बताए।
खेलकुद नीति बनाउँदा कस्तो चाहिने भनेर काम गरिरहेको पनि उनले बताए। ‘वैकल्पिक धार कसरी बनाउने भनेर मास्टर प्लान बनाउँदैछौँ’, उनले भने।
.......
पछिल्लो समय दलहरुले संगठन विस्तारका लागि विभिन्न विभाग गठन गर्दा पनि खेलकुदलाई पनि प्राथमिकता दिएका छन्। तर उनीहरु नै सत्तामा पुग्दा भने खेलले प्राथमिकता पाउँदैन।
दलहरुले कहिलेबाट खेलकुद विभाग बनाउन थाले भन्ने एकीन विवरण कसैसँग छैन। तर, २०४६ मा बहुदल आएपछि दलहरुले खेलकुदलाई प्राथमिकता दिन थालेको अनुमान थापा गर्छन्।
खेलकुदको विकासका लागि अन्य दल जस्तै एमालेले पनि युवा तथा खेलकुद विभाग गठन गरेको छ।
एमालेको खेलकुद विभागले पूर्णता पाउने क्रम जारी छ। अहिलेको सामाजिक संरचनालाई ध्यानमा राखेर योजना बनाउने तयारीमा विभाग छ।
विगतमा खेलकुदमा केके भएको थियो? राणाकाल, पञ्चायत र बहुदलमा खेल र युवा नीति कस्तो आयो? कुन पार्टीको सत्ता र सरकार हुँदा खेलकुदमा के योगदान भयो? त्यसको खोजीनीति अहिले आफूहरुले गरिरहेको थापाले बताए।
दलमा खेलकुद विभाग गठन गरिए पनि खेलमाभन्दा व्यक्तिगत फाइदाका लागि तिनलाई प्रयोग गर्ने गरिन्छ।
खेलकुद विभाग कार्यकर्ता भर्ती केन्द भइरहेको छ नि? हामीले थापालाई सोध्यौँ। ‘त्यसैले कसले के काम गरे? त्यो थाहा पाउन विवरण संकलनमा जोड दिएका हौँ। एमालेले खेलकुदमा गरेका राम्रा नराम्रा पक्षलाई केलाउन आवश्यक छ। हामी आलोचना गरेर बस्नुभन्दा निकासको खोजीमा छौँ। अब खेलको हितमा गुुरु योजना बनाएर जानुपर्छ।’
पञ्चायत र बहुदलमासमेत खेलाडीलाई प्रयोग मात्रै गरियो। तर खेलाडीको भविष्य अन्धकारमा बित्यो। अहिले केही राम्रो भए पनि पूरै अवस्था सकारात्मक भएको छैन। दलहरु साँघुरो चिन्तनमै फसिरहँदा खेलाडीको संकट हटेको छैन।
प्रमुख थापा अहिले एमालेमा आवद्ध खेलाडीको विवरण संकलनमा लागेको बताउँछन्।
‘एमालेमा कति खेलाडी आवद्ध छन् भनेर विवरण लिँदैछौँ। अब नयाँ ढङगले जानुपर्छ’, उनले भने, ‘त्यसका लागि १,२ महिना लाग्न सक्छ। त्यसपछि विज्ञहरुसँग छलफल गर्छौँ। कार्ययोजना बनाउँछौँ।’
उनले खेलाडीलाई रोजगारी दिन, खेलकुद पूर्वाधारको प्याकेज बनाएर राम्रो र वैकल्पिक उपाय दिने गरी काम गरिरहेको पनि बताएका छन्।
Shares
प्रतिक्रिया