ब्राजिलियन स्ट्राइकर ग्याब्रियल जेसस लण्डन क्लब आर्सनलमा आवद्ध भएकै दिन म्यानचेस्टर सिटीले इङ्लिस मिडफिल्डर काल्भिन फिलिप्सलाई भित्र्याएको छ।
गनर्सले जेससलाई ९ नम्बर जर्सी दिएर अनुबन्ध गरेको औपचारिक घोषणालगत्तै सिटीले ४ नम्बर जर्सी दिएर फिलिप्ससँग ६ वर्ष लामो सम्झौता गरेको हो।
आर्सनलले म्यानचेस्टर सिटीबाट २५ वर्षीय जेससलाई भित्र्याउँदा ४५ मिलियन पाउन्ड खर्च गरेको छ। जेसलले गनर्ससँग ५ वर्ष लामो सम्झौता गर्दै २०२७ सम्म लण्डन क्लबमा रहने बाचा गरेका छन्।
यसअघि जेसस सन् २०१६ मा ब्राजिलियन क्लब पाल्मीरासबाट सिटीमा अनुबन्ध भएका थिए। सिटीमा रहँदा जेससले १५९ प्रिमियर लिग खेल्दै ५८ गोल गरेका छन्।
उनले सिटीमा ४ प्रिमियर लिग, एफए कप, ईएफएल कप र कम्युनिटी शिल्डको उपाधि पनि उचालेका थिए।
जेसस लण्डनतिर गएकै दिन सिटीले लिड्स युनाइटेडबाट इङ्ल्यान्डका मिडफिल्डर काल्भिन फिलिप्सलाई भित्र्याएको छ।
२६ वर्षीय फिलिप्सका लागि सिटीले ४२ मिलियन पाउन्ड तिरेको छ। जेससलाई बेचेर आएको रकम उसले फिलिप्समाथि खर्चेको हो।
फिलिप्स लिड्समा ८ सिजनदेखि खेलिरहेका थिए। गत सिजन उनको प्रदर्शनको तारिफ भएको थियो। लिड्सकै एकेडेमीमा हुर्किएका उनले २३५ खेल खेलेका थिए। सन् २०१५ मा उनलाई क्लबले सिनियर टोलीमा उतारेको थियो।
Shares
प्रतिक्रिया