बागमती पुलसँगै जोडिएको थापाथलीमा एउटा अनौठो पार्क छ। नेपालखबरको टोली क्यामेरा लिएर त्यहाँ पुग्दा चेसका दुई वटा प्रतिमा अगाडि भीडभाड देखियो।
मानिसहरु घोप्टो परेका थिए, बाहिरबाट आएका मान्छेसँग बोल्ने उनीहरुलाई फुर्सद थिएन। ‘राजा चेक’भन्नुबाहेक अन्य कुरा गर्ने फुर्सद कोहीसँग छैन।
पहिले ‘थापाथली पार्क’का रुपमा परिचित यो स्थान अहिले ‘चेस पार्क’का नामले चिनिन थालेको छ।
फुर्सदमा भएका व्यक्ति मात्र हैन, कर्मचारीदेखि विद्यार्थीसम्म यहाँ हरेक दिन चेस खेल्न भेला हुन्छन्। दिनको समयभन्दा साँझ–बिहान चेस खेल्नेहरु धेरै भेला हुन्छन्।
ठूला रुखले दिने शीतल छहारीमा बसेर मानिसहरु खेलमा व्यस्त देखिए। ठाउँ–ठाउँमा राखिएका चेसका बोर्डमा खेल्ने दुई खेलाडी मात्र भए पनि हेर्नेहरुको उस्तै भीड जम्छ।
बिहानैदेखि चेस खेल्नेको भीड लाग्छ। बिहान ६ बजेदेखि नै यहाँ चेस खेल्नेहरु आइपुग्छन्। कतिपय सरकारी कर्मचारीसमेत अफिस ‘बंक’ गरेर यहाँ चेस खेल्न आउँछन्।
चेसको लत लागेका पसलेहरु दिउँसो पसल बन्द गरेरै चेस खेल्न आइपुग्छन्।
खेल्नेको क्रेज, हेर्नेको भीड
पार्कभित्रै सानो चिया पसल पनि छ। खेलाडीहरु चिया त मगाउँछन् तर, बुद्धि चाल्दाचाल्दै तातो चिया सेलाइसक्छ।
खेल्ने बोर्ड नपाउँदा कतिपय मोबाइलमै चेस खेलिरहेका पनि भेटिन्छन्। निःशुल्क चेस खेल्न पाइने यो पार्कमा थापाथली चेस क्लबले जेनतेन गरेर खेल सामग्री खरिद गर्दै आएको छ।
चेसका गोटीलाई बाँदरबाट बचाउन पनि धेरै दुःख गर्न परेको क्लबको भनाइ छ।
यो पार्कमा मानिसहरु चेस खेल्न थालेको करिब डेढ दशक भइसकेको छ। आधिकारिक रुपमा चिनिएको भने दशक बढी भइसकेको स्थानीय बताउँछन्।
पहिला फुर्सदको समय सदुपयोग गर्नमात्र खेल्नेहरु अहिले राष्ट्रिय च्याम्पियन बन्ने लक्ष्यमा छन्। यो पार्कले च्याम्पियन समेत जन्माइसकेको छ। खेलको विकासका लागि भनेर नै अहिले क्लब नै गठन भएको छ।
नयाँनयाँ खेलाडीलाई उत्साह दिन नेशनल च्याम्पियनहरु अहिले पनि पार्कमा पुग्ने गरेको थापाथली चेस क्लबका उपाध्यक्ष भरत धिमालले सुनाए।
धिमालले भने, ‘यही चेस पार्कमा खेल्न आउनेहरु मिलेर कति प्रतियोगितामा भाग लिएर उपाधिसमेत जितिसकेका छन्। यसले पनि क्लबलाई हौसला दिने काम गरिरहेको छ।’
गुगलमा सर्च गरेर पार्कमा पुग्छन् खेलाडी
उपत्यका बाहिरबाट आउने कतिपय गुगलमा सर्च गरेर नै यो पार्कसम्म पुग्ने गरेका छन्। पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्ने धेरै विद्यार्थी फुर्सदको समय सदुपयोग गर्ने राम्रो थलो बनेको छ यो पार्क।
विद्यार्थीमात्र हैन, रोजगारीका लागि काठमाडौं आएका धेरै यो पार्कमा पुग्छन्।
सप्तरीका दुर्गेश यादव काठमाडौं आएको साढे २ महिना मात्र भयो तर उनी चेस खेल्न दिउँसो पार्कमा पुग्छन्। बुवाबाट चेस खेल्न सिकेका दुर्गेश अहिले आफैँ पनि अब्बल भइसकेका छन्।
उनी मात्र हैन नवलपरासीका गंगाधर बस्याल पनि काठमाडौं आएपछि म्यापमा सर्च गर्दै पार्कमा पुगे। धेरैले चाख दिएर खेलेको देखेपछि उनको मनले मानेन। त्यसपछि उनी पनि नियमितजसो पुग्नथाले।
उनले नेपालखबरसँग भने, ‘यहाँ आउँदा धेरैले खेलिरहेको देखेर म पनि नियमित आउन थालेँ।’
गंगाधरलाई कुनै समय उनलाई खेलाडी बन्छु भन्ने थियो। अहिले त्यो मोह भने उनमा छैन तर नियमित चेस खेल्छु भन्नेमा उनी दृढ छन्।
कहिले पुग्ला संघ र सरकारको ध्यान?
चेसप्रति लगाव हुने धेरैको नजर यो पार्कमा जाँदा नेपाल बुद्धिचाल संघ र सरकारको ध्यान भने यहाँ पुग्नसकेको छैन।
संघ र सरकारले बेवास्ता गर्दा आफूहरुले सोचेजस्तो काम गर्न नसकेको उपाध्यक्ष धिमालको दुःखेसो छ। यो पार्कबाट एउटा मास्टर बनाउन निकै मिहिनेत गरिरहेको सुनाउँछन् उनी।
धिमालले थपे, ‘क्लबसँग आर्थिक आम्दानीको कुनै स्रोत छैन तर चेसप्रति माया भएकाहरुले जति सक्छन्, गोजीको पैसा निकालेर दिन्छन् त्यसले नै खेलाडीलाई प्रतियोगितामा पठाउँछौँ। एक जोर पोशाक किनेर दिन सक्ने अवस्था पनि छैन।’
चेसको विकास गरौँ भनेर केहीले चेसको बोर्ड दिन्छन् त केहीले घडी। पूर्व र अहिलेका च्याम्पियनको सहयोगले पुरुषहरु खेल्दै गर्दा क्लबले महिलाका लागि शनिबार प्रतियोगिता आयोजना गर्न थाल्यो।
महिला खेलाडी उत्पादनका लागि क्लबले हरेक शनिबार स्पर्धा गराउन थाल्यो। विजेता खेलाडीलाई ४, ५ सय रुपैयाँ पर्ने मायाको चिनो दिने गरेर स्पर्धा गराए पनि आर्थिक अभावमा त्यसले निरन्तरता पाउनचाहिँ सकेन। क्लबले महिला खेलाडीका लागि नै भनेर एउटा ट्रफी बनायो तर खेल गराउन नसक्दा त्यो त्यसै थन्किएको छ।
डेढ दशकदेखिको चेस साइनो
जापान सरकारको सहयोगमा बनेको थापाथली पार्कमा चेसका काला र सेता दुई ठूला गोटी बनाइएको छ। पार्क कहिले बन्यो ठ्याक्कै मिति याद नभए पनि थापाथली पुल र पार्क सँगै बनेको स्थानीय सुनाउँछन्।
उनीहरु भन्छन्, ‘त्यो बेलामा निकै विवाद भएको थियो। यो गुठीको जग्गा हो पार्क बनाउन हुन्न भन्थे। त्यो बेला उनीहरुलाई के थाहा! यही पार्कले राष्ट्रिय च्याम्पियन पनि बनाउँछ भन्ने!’
बुद्धिचाल अर्थात् चेसलाई रणनीतिक खेलको रुपमा लिइन्छ। यो खेल बौद्धिक क्षमता धेरै भएका खेलाडीले खेल्ने खेलको रुपमा परिचित छ। किनकि यसमा वर्तमान मात्र हेरिँदैन भविष्यमा के हुनसक्छ भनेर चाल चल्ने भएका कारण रणनीति बनाउन सक्ने व्यक्तिले यो खेल खेल्छन् भनिन्छ।
बुद्धिचाल खेल विश्वमा कहिलेबाट खेल्न सुरु गरियो भन्ने एकीन तथ्याङक त छैन। तर संसारभरमा करिब ७० करोडभन्दा बढी मानिसले यो खेल्छन् भन्ने गरिएको छ। यद्यपि यसको लिखित प्रमाण भने केही छैन। यो खेलमा प्रयोग हुने रणनीतिले मानिसको बौद्धिक क्षमता विकासमा सहयोग पुर्याउने गर्छ।
अनुभवले नै मानिसलाई पोख्त बनाउने हो। त्यसैले जति खेल्दै गयो उति नै यो खेलमा पोख्त हुँदै गइन्छ। गंगाधर र दुर्गेश भने जति खेल्दै गयो त्यति नै दिमाग लगाउन सकिने बताउँछन्।
धेरैले खोज्दै पुग्ने यो पार्क सञ्चालन र व्यवस्थापनमा स्थानीय सरकार र सम्बन्धित संघले पनि थोरै ध्यान दिए बुद्धिचाल खेलको विकासमात्र नभई भविष्यमा नामुद खेलाडी नजन्मिएलान् भन्न सकिन्न।
तस्बिर/भिडिओ– विशाल कार्की
भिडिओ
Shares
प्रतिक्रिया