आज गुरुपूर्णिमा। सबैले आआफ्ना गुरुलाई भेटेर, सम्झिएर आदरसत्कार गरी मनाए। अक्षर पढाउने हुन् कि खेलकौशल सिकाउने सबै गुरुहरुलाई आज शिष्यहरुले सम्झिने दिने हो।
सोही कारण आआफ्ना क्षेत्रका व्यक्ति, विद्यार्थी, खेलाडीलगायतले आफूलाई शिक्षा र सन्मार्ग देखाउने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरुपूर्णिमा मनाएका छन्।
शिक्षासँगै आफ्नो भविष्यको बाटो देखाउने गुरुलाई सम्भव हुनेले भेटेरै र टाढा हुनेले फोन गरेर वा सम्झेर पनि गुरुप्रति सम्मान व्यक्त गरेका हुन्। यहीबीचमा खेल क्षेत्रमा सक्रिय रुपमा लागिरहेका खेलाडीहरुले पनि गुरुप्रति नतमस्तक रहेर गुरुपूर्णिमा मनाएका छन्।
अहिले एसियन खेलकुदको प्रशिक्षण जारी रहेकाले पनि धेरै खेलाडीले प्रशिक्षण स्थलमा नै गुरुप्रति सम्मान व्यक्त गरेका छन्। तर केही खेलका गुरु र शिष्य टाढा भए पनि फोनबाट नै गुरुपूर्णिमा मनाएका छन्।
ओलम्पियन दिपक विष्ट नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी हुन्। व्यक्तिगत स्पर्धामा सफल तेक्वान्दोका विष्ट अहिले आफैँ धेरै खेलाडीका गुरु बनिसकेका छन्। उनलाई सफल खेलाडी बन्न योग्य बनाउने गुरु गोविन्द विष्टलाई दिपकले बिहानै सम्झिए।
भौतिक रुपले टाढा भएपनि गुरुलाई विष्टले फोन गरेर शुभकामना दिएर आशीर्वाद लिए। भेटेर उपहार दिने वाचा गरे। उनले विधान गुरु, नारायण गुरुलगायत सिनियर सबै गुरुलाई सम्झेर फोन गरे आशीर्वाद लिए। आजको दिन विष्टले आशीर्वाद मात्र लिएका छैनन्। धेरै शिष्यलाई आशिष पनि दिइरहेका छन्।
साग गेम्समा ४ स्वर्णपदक जित्ने एक्ला खेलाडी विष्टको गुरुभन्दा गोविन्द विष्ट गर्वले छाती फुलाउँछन्। गोविन्द गुरुले २०५२ सालमा धनगढी डोजाङमा दिपक विष्टलाई प्रशिक्षण दिएका थिए।
गोविन्द गुरु भन्छन्, ‘दिपकले बिहानै फोन गरेर तपाईं भनेको जन्मदाता हो भनेर आशीर्वाद लिएको थियो। उसले एल्लो वेल्टबाट कहिल्यै पछि फर्किन परेन। नेशनलमा त गोल्ड मेडल ल्यायो नै, सागमा पनि ४ गोल्ड ल्याउने एक्लो खेलाडी हो। उसलाई जित्न कोही खेलाडीले सक्दैनन् जस्तो लाग्छ।’
सबै आफ्नो काममा व्यस्त रहे पनि चेलाहरुले बेला–बेला सम्झिँदा नै निकै खुसी लाग्ने उनको भनाइ छ।
‘मलाई उनीहरुबाट आशा पनि यही छ, उनीहरुले मेरो नाम मात्र लिइदिए मात्र पनि पुग्छ’, उनले भने।
नेपाली महिला भलिबलकी सफल खेलाडी प्रतिभा मालीले पनि आज बिहानै आफ्नो गुरु कुमार राईलाई भेटेर आशीर्वाद लिइन्। गुरु कुमार राईलाई भेट्न प्रतिभा सलिना श्रेष्ठ घरमा नै पुगेका थिए। राईको प्रशिक्षणमा नै मालीले न्यु डायमन्ड क्लबबाट राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेकी थिइन्।
प्रशिक्षक राई भने अहिले काठमाडौंमा जारी राष्ट्रपति कप खेलकुद प्रतियोगितामा बागमतीको टोली सम्हालिरहेका छन्। उनी बिहानैदेखि टोलीको खेलमा व्यस्त थिए।
उनी भन्छन्, ‘प्रतिभा र सलिना लगायतका खेलाडी बिहानै आएका थिए। प्रतिभाले बिहानै भगवानलाई झैँ पूजा गरिन्। अनि म खेलकुदका लागि आएँ। टोलीसँग आजको दिनको जितको उपहार मागेँ।’
१३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता विप्लव लाल श्रेष्ठले पनि बिहानै गुरुलाई सम्झिए। अहिले राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त रहे पनि गुरुपूर्णिमाको लागि विप्लवसहित केही साथीहरुले थोरै पैसा उठाए। आज बिहानै प्रशिक्षण सुरु हुनुअघि गुरुहरुलाई फोन गरेर बोलाएर स्पेसल महसुस गराएको उनी सुनाउँछन्।
उनले भने, ‘हामी बिहान उठ्नुभन्दा अगाडि नै गुरुहरुसँग हुन्छौँ, गुरुपूर्णिमा भनेको हाम्रो लागि ठूलो चाड हो।’
विप्लवले सागमा स्वर्ण जित्दा दिपक श्रेष्ठले प्रशिक्षण दिएका थिए। उनी आफ्ना गुरु श्रेष्ठलाई अहिलेको पुस्तालाई बुझ्नसक्ने क्षमता भएको मान्छन्।
श्रेष्ठ भन्छन्, ‘प्रशिक्षणमा तलमाथि हुँदा मोटिभेट गरेर लयमा ल्याउन सक्नुहुन्छ। राम्रो प्रशिक्षक राम्रो मोटिभेटर हुँदैन। राम्रो मोटिभेटर राम्रो कोच हुँदैन तर दिपक श्रेष्ठमा सबै क्वालिटी छ। उहाँजस्तो कोच पाउँदा म मात्र हैन हाम्रो टिम नै गुरुप्रति आभारी छौँ। खेल मात्र हैन हाम्रो व्यक्तिगत जीवनको उतारचढावमा पनि उहाँले मार्गनिर्देश गर्नुहुन्छ उहाँ एउटा मार्गदर्शक हो।’
प्रशिक्षक श्रेष्ठ पनि बिहानै आफ्नो गुरुलाई भेट्न पुगे। प्रशिक्षक श्रेष्ठलाई मिनकृष्ण महर्जनले प्रशिक्षण दिएका थिए। श्रेष्ठलाई महर्जनले नै रंगशालासम्म ल्याएका थिए। श्रेष्ठका पनि थुप्रै शिष्य छन् तर गुरुपूर्णिमाको दिन उनी पहिला आफ्नो गुरुबाट नै आशीर्वाद लिन्छन्।
उनी आफ्नो गुरुबाट आशीर्वाद लिइरहँदा यता उनको आशीर्वाद लिन उनलाई खेलाडीहरु पर्खिरहेका थिए। उनी राष्ट्रिय टोलीको प्रशिक्षणमा पुगे र लगनखेलमा रहेको डोजोमा पुगेर गुरुपूर्णिमा मनाए।
श्रेष्ठको नजरमा विप्लव मिहिनेती खेलाडी हुन्। उनले धेरै मिहिनेत गरेर नै छोटो समयमा नै सागमा प्रभुत्व जमायो र हेभिवेटमा पदक ल्यायो। अहिले पनि क्रमिक रुपमा आफूलाई साबित गरिरहेको उनले सुनाए।
विप्लवका काका पनि नेपालका उत्कृष्ट खेलाडी थिए जसको खेलबाट श्रेष्ठ पनि प्रभावित थिए। सायद आफ्नो काकाबाट नै प्रभावित भएर विप्लवले खेल्न लागेको हुुनुपर्ने श्रेष्ठ सुनाउँछन्।
राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी मिडफिल्डर अनिता केसीको मनमा गुरु भन्नेबित्तिकै शेर बहादुर दर्लामी मनमा आउँछन्।
गुरु भौतिक रुपमा नभए पनि उनको मनमा सधैँ जीवित छन्। शेर बहादुर दर्लामीसँग प्रशिक्षण गर्दा नै विभागीय टोलीले उनलाई बोलाएको थियो तर त्यो समयमा उनलाई गुरुले आउन दिएनन्। गुरुको मृत्यु भएपछि भने नुरज गुरुले खेलेर मात्र हुँदैन जागिर खानुपर्छ भनेर एपीएफमा पठाएको अनिता सुनाउँछिन्।
शेर बहादुर गुरुसँग फोटो खिच्ने मौका नपाए पनि उनको मनमा भने छन्। अनितालाई प्रशिक्षणका लागि दर्लामीले नै बोलाए। उनीहरुले हामी पनि प्रशिक्षण गर्छौँ भनेपछि दर्लामीले सधैँ आउन पर्छ भनेपछि उनले नियमित प्रशिक्षण गर्न थालिन्।
उनले आजको दिनमा भने रौतहटमा रहेका गुरु नुरज काफ्ले र चित्र दर्लामी र एपीएफका प्रशिक्षक जनक सिंह थारुलाई फोन गरिन्।
गुरुबाट आशीर्वाद लिइन्। अहिले एशियन कपको तयारीमा रहेका कारण पनि केसीले बिहानै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा साथीहरुसँग मिलेर गुरुपूर्णिमा मनाइन्।
Shares
प्रतिक्रिया