नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले बुधबारदेखि जिम्मेवारी त्यागेका छन्। स्कटल्याण्ड भ्रमणअघि नै राजीनामा दिएका दासानायकेले पत्रकार सम्मेलन गर्दै त्यसलाई औपचारिकता दिए।
उनको राजीनामा स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। यसैबीच उनी क्यानाडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
दासानायकेले व्यक्तिगत कारण देखाउँदै राजीनामा घोषणा गरेका थिए। ‘मेरो कोचिङ करियरमा यो सबैभन्दा कठिन निर्णय थियो। मलाई नेपाल क्रिकेट मन पर्छ र यो चरणमा छाड्दा म निकै भावुक छु’, उनले भनेका छन्, ‘मेरो क्षमतामा विश्वास गर्दै नेपाली टोलीमा फर्कने मौका दिनुभएकोमा क्यानलाई विशेष धन्यवाद र नेपाली टोलीलाई शुभकामना।’
दासानायकेले परिवारको हेरचाह गर्न राजीनामा दिएको सुनाए। ‘अहिले मेरो परिवारलाई मेरो आवश्यकता छ। यो समय परिवारलाई दिन सकिनँ भने पछुताउने छु’, उनले भने।
परिवार छाडेर समय दिँदा पछुताउने बताएका दासानायकेको समयमा नेपाली क्रिकेटले चाहिँ के पायो त? समीक्षाको विषय बनेको छ।
....
तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएसँगै दासानायके खुला स्पर्धाबाट नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए।
दासानायकेले आफ्नो पहिलो इनिङ्गमा नेपाली टोलीको उचाइ बढाए। जसको अहिले पनि खुलेर प्रशंसा हुन्छ।
दासानायकेले नेपाली टोली सम्हालेपछि धेरैले उनको दोस्रो इनिङ्ग अझै सानदार हुने अपेक्षा गरेका थिए। तर, नतिजा त्यस्तो रहेन।
दासानायकेले गत पुसमा नेपाली टोली सम्हालेका थिए। उनको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १४ एक दिवसीय खेल्दा धेरैजसो हार्यो। नेपालले ९ मा खेलमा हार्दा ४ खेलमा मात्रै नतिजा आफ्नो पक्षमा पार्यो। एक खेल टाई भयो।
एक दिवसीयको तुलनामा टी २० क्रिकेटमा नतिजा केही सुखद छ। नेपालले १३ टी–२० मध्ये १० मा जित र ३ खेलमा हार भोगेको थियो।
लगातार खराब नतिजा आएपछि दासानायकेको सर्वत्र आलोचना भयो। सामाजिक सञ्जालमा पनि क्रिकेट समर्थकले उनले टोली छाड्नुपर्ने भन्दै आलोचना गरे।
पहिलो इनिङ्गमा दासानायकेले सम्हालेको नेपाली टोली र अहिलेको टोलीमा धेरै फरक छ। दासानायकेको असफलताको कारण खेलाडीमा देखिएको गुट पनि मुख्य कारण हो।
दासानायके राम्रो प्रशिक्षक हुन्। तर दोस्रो इनिङ्गमा उनी आफैले सोचेको जस्तो काम गर्न सकेनन्।
खेलाडीबीचको गुटको शिकार उनी पनि भए। टोलीका ५ खेलाडीले देशका लागि खुलेर नखेलेपछि प्रशिक्षक एक्लैले केही गर्न सक्ने अवस्था थिएन।
उनले खेलाडीलाई आफ्नो नियन्त्रणमा राख्न सकेनन्। जसले लगातार खराब नतिजा आयो। यसको दोष प्रशिक्षकका हिसाबले दासानायके एक्लैले लिनु पर्यो।
दासानायकेको राजीनामाको कारण खराब नतिजा मानिए पनि खेलाडीको असहयोगले नै उनले राजीनामा दिएको क्रिकेट विश्लेषकहरू बताउँछन्।
अमेरिका भ्रमणको समयमै दासानायके राजीनामाको मनस्थितिमा थिए। दासानायकेले राजीनामा दिने बुझेपछि कप्तान सन्दीप लामिछानेले एक ट्वीट गरेका थिए।
सन्दीपले ट्वीट गर्दै लेखेका थिए, शून्य समर्थन, चिन्ता नलिऊँ, तिमीले यो लडाइँ एक्लै लड्नुपर्छ। त्यो समय धेरैले अन्य खेलाडीलाई लक्षित गरेको बताएपनि दासानायकेले राजीनामा दिने तयारी गरेकाले आफू एक्लै लड्ने उल्लेख गरेका थिए।
दासानायकेले नेपाली टोली सम्हाल्नुअघि राष्ट्रिय टोलीका खेलाडी र क्यानबीच विवाद चलिरहेको थियो। तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, करण केसी, विनोद भण्डारी लगायतका खेलाडी प्रशिक्षणमा नजाने अडानमा थिए।
तर, दासानायकेले तत्कालीन कप्तान मल्ललाई टोलीबाहिर राख्दै अन्य खेलाडीलाई क्याम्पमा बोलाए। मल्ललाई बाहिर राख्दै क्यानले पनि टोलीको कप्तानी स्पिनर सन्दीप लामिछानेलाई सुम्पियो।
एक समय खराब लयमा रहेको नेपाली क्रिकेटलाई तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले लयमा ल्याएका थिए। ह्वाटमोरले नै भरपर्दो ओपनरको खोजी गरेर नेपाली क्रिकेटमा नयाँ आशा जगाए।
तर, लय समात्दै गरेको नेपाली टोलीलाई पुबुदुले सम्हाल्न सकेनन्। जसको नतिजा लगातार खराब ब्याटिङसँगै एक दिवसीय मान्यता नै संकटमा पर्दै गएको छ।
...
दासानायकेले पहिलो जिम्मेवारी लिनुअघि नेपाली टोली डिभिजन ४ मा थियो। डिभिजन ४ को नेपाली टोलीलाई उचाई दिँदै उनैले डिभिजन २ सम्म ल्याए।
उनी दोश्रो पटक आउनुअघि नेपाली टोलीले एक दिवसीयको मान्यता पाइसकेको थियो। तर, यसपटक उनले जिम्मेवारी छाड्दा एक दिवसीय वरियता नै धरमरमा परेको छ।
दासानायकेकै प्रशिक्षणमा नेपाली टोलीले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो। उनको प्रशिक्षणमा नै नेपाली टोलीले सन् २०११ देखि २०१५ सम्म डिभिजन ४ बाट अगाडि बढ्दै २ सम्मको यात्रा तय गर्यो।
तर, क्यानको आन्तरिक किचलोका कारण दासानायकेले सन् २०१५ मा नेपाली क्रिकेट छाडे। ६ वर्ष नेपाली टिमबाट अलग्गिएका उनी दोस्रो पटक गत पुसमा नेपाल आए।
यस पटक करिब ८ महिना नेपाली टोली सम्हाल्दा उनी आलोचित भएर बिदा भए। जहाँबाट अगाडि बढाएका थिए, त्यही बाटो फर्किने अवस्थामा पुर्याएर छाडेको आरोप उनले खेपे।
त्यसो त आराम गर्ने भन्दै राजीनामा दिएको बताएको केही घण्टामै उनी क्यानेडियन क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएको सार्वजनिक भएको छ।
तत्काल कहीँ नजाने बताएका दासानायकेलाई क्रिकेट क्यानडाले मुख्य प्रशिक्षकमा नियुक्त गरेको विवरण सार्वजनिक गरिसकेको छ।
Shares
प्रतिक्रिया