राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोधेको प्रश्नको जवाफ नदिइ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउन आग्रह गरेका छन्।
अलमुताइरी जोडिएको विवाद समाधानका लागि युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाले दुई फरक समुह बनाएर छानबिन गरेका थिए। दुवै छानबिन समितिले अलमुताइरीलाई दोषी देखाएका छन्। छानबिन समितिको प्रतिवेदनका आधारमा अलमुताइरीसँग कुरा गर्न एन्फाले महासचिव राईलाई जिम्मा दिएको थियो।
एन्फाले गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा एन्फा महासचिव राईले अल्मुताइरीको जवाफ मागेका थिए। तर अलमुताइरीले कुनै विषयलाई सम्बोधन नगरि मैत्रीपूर्ण खेलका लागि २६ खेलाडी बोलाउन एन्फालाई आग्रह गर्दै इमेल पठाएको एन्फा श्रोतले बताएको छ।
एन्फा श्रोतले भन्यो, ‘छानबिन समितिले अलमुताइरीलाई दोषी देखाएपछि उनको कुरा राख्न पत्र पठाएका थियौँ तर उनले सोधेको विषयमा जवाफ नदिई उल्टो खेलाडीलाई प्रशिक्षणमा बोलाउन र अरु विषयमा तयार गर्न आग्रह गरेका हुन्।’
गत वैशाखमा प्रशिक्षक अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न एन्फाले सेनाका पूर्वउपरथी समेत रहेका पूर्वराष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा रहेको समितिमा पूर्वफुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेको छानबिन समिति गठन गरेको थियो।
यो छानबिन समितिले १० दिन दिन लगाएर २८ पृष्ठको प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदन अनुसार एसियएन कप छनोटपछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको विकल्प खोज्न सिफारिस गरेको थियो। एशियन कपपछि अलमुताइरी बिदामा छन्।
Shares
प्रतिक्रिया