घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपको टिकटको मूल्य तोकिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार जारी बैठकले प्रतियोगिता हेर्ने दर्शकको लागि टिकट दर निर्धारण गरेको हो।
यसअनुसार सामान्यतर्फ ३ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ प्रतिटिकट मूल्य तोकिएको छ।
साफ च्याम्पियनसिप काठमाडौको दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म हुँदै छ।
नेपालले भदौ २१ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। समूह चरणको अन्तिम खेलमा नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्ने तालिका छ। नेपाल भुटान र श्रीलंका रहेको समूह ‘बी’मा छ।
सेमिफाइनलका खेलहरु भदौ ३१ गते हुनेछ। असोज ३ मा उपाधि भिडन्त हुनेछ। च्याम्पियनसिपमा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ।
समूहका शीर्ष दुई टोलीले अन्तिम ४ मा स्थान बनाउनेछ। समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन्।
Shares
प्रतिक्रिया