राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहलमा च्याम्पियन्स मार्सल आर्टस् एकेडेमीको काठमाडौंमा सुरुवात भएको छ।
हाल अमेरिकामा बस्दै आएका ११ औँ दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता करातेका सुनिल लामा, फ्रान्समा बस्दै आएका सुनिल लामा, फ्रान्स बन्दै आएका दक्षिण एसियाली जुडो च्याम्पियनसिपका स्वर्ण पदक विजेता सरोज महर्जन, अमेरिका बस्दै आएका तेक्वान्दोका राष्ट्रिय खेलाडी पुष्प थापामगर, अस्ट्रेलिया बस्दै आएका ११ औं सागका उसुका पदक विजेता राजु महर्जन र मकाउ बस्दै आएका एम्बेस्डर कपका स्वर्ण पदक विजेता सुजन जोशी तथा अमित लामा, सन्जय लामा, नरेन्द्र मर्हजनको पहलमा एकडेमीको स्थापना गरिएको हो।
काठमाडौंको वडा नम्बर १६ स्थित खरिबोटमा साढे २ रोपनी जग्गामा एकेडेमीको स्थापना भएको हो। १२ वर्षका लागि जग्गा भाडामा लिएर एकेडेमी सुरु गरिएको एकेडेमीका निर्देशक सुशीला लामाले जानकारी दिइन्। एकेडेमी निमार्णका लागि करिब २ करोड रुपैयाँ खर्च भएको छ।
एकेडेमीको शुक्रबार उद्घाटन गरिएपनि प्रशिक्षण भने यसअघिबाटै दिइँदै आएको थियो। एकेडेमीमा बिहान र साँझ गरेर झण्डै ५० जनाले प्रशिक्षण लिएका छन्। एकेडेमीमा करातेका प्रशिक्षकमा श्याम सुनुवार तथा तेक्वान्दोको प्रशिक्षकमा तेक्वान्दो लालबहादुर बराम र युगेन एकेडेमीले प्रशिक्षण दिँदै आएका छन्।
स्थानीयस्तरमा मार्सल आर्टस् खेलाडी तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको एकेडेमीकी निर्देशक लामाले बताइन्। एकेडेमीले आगामी दिनमा जुडो, बक्सिङ र उसुको प्रशिक्षण दिने पनि योजना बनाएकाे छ। यस्तै एकेडेमीमा फिटनेस र जुम्बा सेन्टर पनि योजना छ।
एकेडेमीले उद्घाटनको अवसरमा अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने विभिन्न खेलका पदकधारी खेलाडीलाई सम्मान गरेको छ।
एकेडेमीले १३ औँ सागमा करातेका दोहोरो स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, स्वर्ण विजेता संगीता बस्याल, १३ औँ सागकी रजत पदक विजेता अप्सरा कार्की, सन् २०१६ की रियो ओलम्पिककी सातौँ वरियताकी निशा रावल, सागमा करातेका कास्य विजेता मुकुन्द महर्जन, दिगम्बर प्रसाद पन्त, जुडोका कास्य विजेता श्रीराम माकाजु, उसुकका रजत विजेता विश्व बुढामगर, मिना ग्लानलाई सम्मान गरेको हो।
Shares
प्रतिक्रिया