इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित दर्ता गरेको छ।
शनिबार राति सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले बर्नमाउथलाई ४–० को फराकिलो अन्तरले हराएको हो।
सिटीको जितमा इल्काए गुन्डोगन, केभिन डे ब्रुएन र फिल फोडेनले समान १ गोल गरे। एक गोल भने उपहार पायो। लगातारको जितसँगै ६ अंक बनाएको सिटी अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ।
शनिबार राति नै भएको अर्को खेलमा आर्सनलले लेस्टरलाई ४–२ ले हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। २ खेलबाट ६ अंक बनाएको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा छ। आर्सनलको जितमा जेससले दुई तथा ग्रानिट झाका र गाव्रियल मार्टिनेलीले एक एक गोल गरे।
पराजित लेस्टर १४औँ स्थानमा छ।
गएरातिकै अर्को खेलमा एस्टन भिल्लाले एभर्टनलाई २–१ ले हरायो। अर्को खेलमा साउथ ह्याम्टन र लिड्सले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्।
Shares
प्रतिक्रिया