अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई निलम्बन गरेको छ।
फिफाले विज्ञप्ति जारी गरी परिषदले सर्वसम्मतिले भारतीय फुटबल महासंघलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यहाँ तेस्रो पक्षको हस्तक्षेप छ, जुन फिफा नियमहरूको गम्भीर उल्लङ्घन हो।’
योसँगै भारतले यसै वर्ष आयोजना गर्ने भनेको यू–१७ महिला फुटबल विश्वकप पनि आयोजना गर्न नपाउने भएको छ। यो प्रतियोगिता अक्टोबर ११ देखि ३० सम्म भारतका विभिन्न राज्यमा आयोजना गर्ने भनिएको थियो।
फिफाले यो निलम्बन तत्काल लागू हुने जनाएको छ। यस महिनाको सुरुमा फिफाले भारतीय फुटबल महासंघलाई निलम्बनको चेतावनी दिएको थियो।
फिफाले विज्ञप्तिमा एआईएफएफका अधिकारीहरूको दैनिक कामकाजमा पूर्ण नियन्त्रण भएपछि मात्र यो निलम्बन फिर्ता लिने बताएको छ।
Shares
प्रतिक्रिया