नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ।
परिषद्ले ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुसँग छलफल गरेर कार्यतालिका सार्वजनिक गरेको हो। परिषदले दुई चरणमा खेलाडी छनोट गर्ने परिषदका सदस्य तथा प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए।
उनले भने, ‘पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षणसहित सोझै छनोट गर्नेछौं भने २२ वटा खेलहरुको जिल्ला छनोटको तयारी गरेका छौँ।’
परिषद्ले पहिलो चरणमा भदौ ३ गतेबाट १४ वटा खेलहरुको विशेष प्रशिक्षण सहित खेलाडी छनोट गर्नेछ। छनोट प्रतियोगिता कास्की, नवलपुर, स्याङजा र बागलुङमा हुनेछ। २० दिनकोे विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल छन्। विशेष प्रशिक्षणबाट आवश्यक खेलाडी छनोट गरिने परिषदले बताएको छ।
अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन हुनेछ। विशेष प्रशिक्षण र जिल्ला छनोटपछि पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट गरिने छ।
भदौ १५ गते प्रदेश छनोटलाई स्टेट गेम्सको रुपमा अघि बढाउने परिषदले तयारी गरेको छ। भदौ १५ गते देखि हुने अन्तिम छनोट खेलमा २२ खेलका ३ हजार बढि खेलाडी पोखरा आउने छन्।
नवौ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुनेछ।
प्रतियोगितामा ३६ खेल र २ प्रदर्शनी गरी ३८ खेलका करिव ८ हजार खेलाडी पोखरा पुग्नेछन्। गण्डकी प्रदेशबाट मात्रै ३८ खेलमा ७ सय भन्दा वढी खेलाडी सहभागी हुनेछन्।
नवौँका लागि गण्डकी प्रदेशबाट छनोट भएका खेलाडीहरुले भदौ २६ देखि असोज २६ गते सम्म बन्द प्रशिक्षणमा सहभागी हुने परिषद्ले जनाएको छ।
Shares
प्रतिक्रिया