बेलायती अर्बपति सर जिम र्याटक्लिफले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड किन्न चाहेको बताएका छन्।
बीबीसीका अनुसार ६९ वर्षीय अर्बपतिको क्लब किन्ने चाहना सार्वजनिक हुनुअघि ब्लुमबर्गले ग्लेजर परिवारले क्लबको थोरै सेयर बिक्री गर्न चाहेको समाचारमा जनाएको थियो।
‘यदि क्लब बिक्रीमा हो भने जिम साँच्चै सम्भावित क्रेता हो’, जिमका प्रवक्ताले टाइम्ससँग भनेका छन्, ‘यदि यो बिक्री सम्भव भए हामी दीर्घकालीन स्वामित्व लिने गरी मनसाय प्रकट गर्छौँ।’
२० पटक लिग उपाधि जितेको क्लब इंग्लिस प्रिमियर लिगकै चर्चित फुटबल क्लब हो। प्रशिक्षक सर एलेक्स फर्गुसनले छाडेयता क्लबले लिगमा राम्रो नतिजा दिन सकेको छैन। भर्खरै सुरु भएको यो सिजनको लिगमा अंकतालिकामा क्लब सुरुवाती दुवै खेल गुमाउँदै अन्तिम स्थानमा झरेको छ।
क्लबमा अहिले एरिक टेन ह्याग नयाँ प्रशिक्षक बनेर आएका छन्। सुरुमै हार व्यहोरेपछि ग्लेजर परिवारविरुद्ध चर्को आलोचना भएको थियो। खासगरी टोलीमा पर्याप्त लगानी नगरेको भन्दै आलोचना भएको छ।
यो सिजनका लागि नयाँ खेलाडी भित्र्याए पनि क्लबले राम्रो प्रदर्शन गर्न सकेको छैन।
Shares
प्रतिक्रिया