बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको जिम्मेवारीअनुसार सुखद् नतिजा निकाल्ने बताएका छन्।
आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिवद्धता हुमागाईँले जनाएका हुन्।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको पत्रकार सम्मेलनमा हुमागाईँले आफ्नो लागि नेपाली टोली सम्हाल्ने एक अवसर भएको भन्दै सुखद् नतिजाको लक्ष्य लिएको बताए।
तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाएका हुमागाईँले मैत्रिपूर्ण खेलका लागि ४० सदस्यीय टोलीको नाम सार्वजनिक गर्दा क्याम्प छाडेका १० खेलाडीलाई पनि समेटेका छन्।
पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भएअनुसार हुमागाईँले उनीहरुलाई स्थान दिएका छन्।
बोलाइएका खेलाडी आजबाट एन्फामा उपस्थित हुन थालेका छन् । प्रशिक्षक हुमागाईँले शुक्रवारबाट अभ्यास गराउने बताउनुभएको छ ।
एएफसी ‘ए’ लाइसेन्स गरेका प्रशिक्षक हुमागाईंलाई प्रक्रियाबाटै नियुक्त गरेको एन्फा प्रवक्ता सुरेश साहले बताए।
Shares
प्रतिक्रिया