गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विशेष प्रशिक्षण सुरु भएको छ।
गण्डकी प्रदेशमा शुक्रबार एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री रामजी प्रसाद बरालले उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै अर्थमन्त्री बरालले खेलाडी छनोट र तयारीका लागि बजेट अभाव हुन नदिने बताए।
गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुसँग छलफल गरेर परिषद्ले प्रशिक्षण सुरु गरेको हो।
खेलकुद परिषद् गण्डकीले पहिलो चरणमा १४ वटा खेलको विशेष प्रशिक्षण सहित खेलाडी छनोट सुरु गरेको हो। छनोट प्रतियोगिता कास्की, नवलपुर, स्याङजा र बागलुङमा हुनेछ।
२० दिनको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल छन्। विशेष प्रशिक्षणबाट आवश्यक खेलाडी छनोट गरिने परिषदले बताएको छ।
अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन हुनेछ। विशेष प्रशिक्षण र जिल्ला छनोटपछि पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट हुनेछ।
भदौ १५ गते देखि हुने अन्तिम छनोट खेलमा २२ खेलका ३ हजार बढी खेलाडी पोखरा आउने छन्। नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुनेछ।
Shares
प्रतिक्रिया